बुटवल,१८ असोज
बुटवलवाट प्रदेशको राजधानी सार्न पाईदैन भन्दै नेपाली काँग्रेसले आब्हान गरेको रुपन्देही बन्दका कारण जिल्लाकोे जनजिवन ठप्प भएको छ । जिल्लाका मुख्य राजमार्ग बजार पुरै सुनसान बनेका छन् । सवारी साधन चलेका छैन भने सवै वजार कलकारखान पूर्णरुपमा ठप्प रहेका छन ।
मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बाक्लो पारिएको छ । आन्दोलनलाइ रोक्न प्रशासनले बुटवलका मुख्य मुख्य चोकहरुमा २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रदेश ५ को राजधानी दाङको देउखुरी लैजाने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेसले आईतवार रूपन्देही जिल्ला बन्दको आह्वान गरेको हो ।
कांग्रेसले बिगत ३ दिनदेखि बिरोध प्रदर्शन गर्दै आएको छ । शनिवार बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियो ।
रुपन्देहीबाट राजधानी सार्न प्रदेश सभा मा पेश गरेको प्रस्ताव फिर्ता गर्न कांग्रेसले माग गरेको छ । प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए । अन्तर्घाती नेकपा मुर्दावादु, रुपन्देहीलाई नै राजधानी कायम गर, बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर,राजधानी सार्ने औचित्य प्रस्ट पार लगायतका नारा उनीहरूले लगाएका थिए । जिल्लाको बुटवल, योगिकुटी शंकरनगर ,मणिग्राम ,मलवाडी, कोटीहवा, भैरहवा ,वेलवास, मुगिया ,सालझण्डी ,देवदह लगायतका स्थानमा दिनभर आन्दोलनकारीले सडकमै उभिएर विरोध जनाएका थिए ।


