बुटवल,५ असौज
कस्तो विडम्बना एक दिनको फरकमा एकै परिवारका २ दाजुभाईको निधन भएको सुन्दा जोकोहीलाई पनि पीडा हुने गर्दछ । यस्तै घटना भएको बुटवलको एक शिक्षित परिवारमा । यस्तो घटनाले त्यो परिवारमा कस्तो पीडा भएको होला ।
असौज २ देखि बुटवलबाट बेपत्ता भएका अहेव बिष्णुप्रसाद नेपाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । आईतवार यसक्षेत्रकै शैक्षिक व्यक्तित्व विष्णु नेपालका दाजु छवि नेपालको पनि निधन भएको छ ।
बेपत्ता नेपाल सोमबार बिहान तिलोत्तमा नगरपालिका १६ बिहुलीमा कुलोको किनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठौरले बताउनु भयो ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरका ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेवको रुपमा कार्यरत रहदै आउनु भएको थियो ।
गत बिहीबार राति बुटवल–६, स्थित एक होटलबाट घर जाने क्रममा सडक नजिकैको नहरमा खसेका उहाँको मोटरसाइकल सोही नहरमा आधा डुबेको अवस्थामा फेला परेको थियो । स्थानीयले मृत पुरुषको शव फेला पारेपछि आफूहरुलाई जानकारी दिएको र उक्त शव विष्णु नेपालकै भएको भएको प्रहरी नायब उपरिक्षक राठौरले बताउनु भयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।