बुटवल, ३० साउन । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन र यसको सम्भावित जोखिमलाई न्युनिकरण गर्न बुटवल उपमहानगरपालिकाले बिहिबाररातीदेखि घोषणा गरेको लकडाउनका कारण बुटवल बजारमा सुनसान बनेको छ ।
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नगरपालिकाको समुदायस्तरमा समेत देखा पर्न थालिसकेकोले यसलाई थप फैलिन नदिन बुटवल उपमहानगरपालिकाले साउन २९ गते बिहिबार मध्येरातिदेखि भदौ ५ गते सम्मको लागि नगर क्षेत्रमा लकडाउनको घोषणा गरेको हो ।
लकडाउनका कारण बुटवलका धेरै जसो होटल, रेष्टुरेण्ट तथा अन्य पेशा ब्यवसाय बन्द रहेका छन् भने मानिसहरुको चहलपहल पनि निकै कम देखिन्छ । बजार क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि फाट्ट फुट्ट मात्र चलेका छन् । स्वास्थ्य सेवा बाहेकका सबै बजार पसल बन्द भएका छन् ।
लकडाउन अवधिमा अत्यावश्यकीय सेवा अन्तर्गतका स्वास्थ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी लगायतका सेवाहरु मास्क तथा पन्जा लगाएर र स्यानिटाइजर प्रयोग गरी संचालन गर्न सकिने ब्यवस्था गरिएको छ । खाद्य, किराना, र डिपार्टमेण्ट स्टोर, तरकारी, फलफूलको विक्री वितरण आवश्यक दूरी कायम गरी विहान ७ वजे देखि ११ वजेसम्म संचालन गर्ने र दुध विहान ७ देखि ११ वजेसम्म र साँझ ५ देखि ७ वजेसम्म ढुवानी तथा वितरण गर्न पाइने ब्यवस्था मिलाईएको छ ।
बैंक तथा वित्तिय संस्था र सहकारी संस्थाहरु तालिका वनाई नगरपालिकाको स्वीकृतिमा मात्र दिनको १० वजेदेखि २ वजेसम्म मात्र संचालन गर्न पाइने छ ।
प्रदेश ५ को अस्थाई राजधानी समेत रहेको बुटवल उपमहानगरपालिकामा गरिएको लकडाउनको असर बुटवलसँग जोडिएका छिमेकी पालिकाहरुमा समेत परेको छ ।
रुपन्देहीको देबदह नगरपालिकाले यसअघिनै नगरपालिका क्षेत्रमा लकडाउन गरेको छ भने तिलोत्तमा नगरपालिकाले साउन २९ गते बिहिबारदेखि भदौ १० गते सम्मका लागि नगरपालिका र मातहतका वडा कार्यालयवाट प्रवाह गरिने अत्यावस्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
