काठमाण्डौ, २२ साउन । शरिरले काम गर्न छाडेपछि बेवारिसे बनेका दुई बृद्धलाई आज उद्धार गरिएको छ । चन्द्रागिरी नगरपालिकाकाको अनुरोधमा ७२ बर्षिय हरिबहादुर शुद्धकार र उनकी ४० बर्षीय श्रीमतीलाई मानवसेवा आश्रम काठमाडौं शाखाले उद्धार गरेको हो ।
उद्धार गरिएका दुई जनालाई मानवसेवा आश्रम बुढानिलकण्ठ उपसेवा केन्द्रमा राखिएको छ । उनीहरुको चन्द्रगिरी नगरपालिकाले स्थानीय स्वयंसेवकहरुको सहयोगमा कोभिड जाँच समेत गराइएको थियो ।
गएको पुष महिनासम्म एक उद्योगमा मेकानिक काम गर्दै आएका हरिबहादुर शुद्धकार प्यारालाइसिस भएपछि विगत ८ महिना देखि काममा जान सकेका थिएनन् । कोठा भाडा तिर्ने पैसा समेत नभएपछि उनी श्रीमती सहित सडकजीवन विताउन बाध्य भएका थिए ।
जाँड रक्सी र कुनै अम्मल नपिउने शुद्धकारको स्वभाभ राम्रो भएकै कारण नैकाप शिवमन्दिर नजिकै रहेको एक परिवारले घरको पिँडीमा बास दिदै आएका थिए । सधै पिढीँको बास सम्भव नहुने भएपछि उनीहरुलाई मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा लिएको छ । शुद्धकारको स्थाई घर भक्तपुर रहेको र कोहीपनि परिवारको आफन्तहरु समेत नभएको बुझिएको छ ।
मानवसेवा आश्रम काठमाडौं शाखा काठमाडौं महानगरपालिकाको सहकार्य र जनमन संकलन अभियानबाट सञ्चालन हुँदै आइरहेको छ ।
