बुटवल, २२ साउन । सर्बोच्च अदालतमा मुद्धा विचाराधिन रहेकै अवस्थामा अदालतकै मानहानी हुने गरी बुटवल उपमहानगरपालिकाले आफ्नो घरमा अन्यायपुर्ण तरिकाले डोजर लगाएर अन्याय गरेको बुटवल ९ निवासी खिमबहादुर हमालले बताउनु भएको छ ।
पूर्व सूचना र जानकारी विनै सबै परिवार घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान ६ बजे परिवारलाई घर बाहिर निस्कन समेत नदिई बुटवल उपमहानगरपालिकाले मानवता बिरोधी काम गरेको हमालले बताउनु भयो । अमानविय रुपमा गरिएको यस्तो घटनाले नागरिकको नैसर्गिक अधिकारको समेत हनन भएको र घरकै विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्धा बिचाराधिन रहेको अवस्थामा एकाएक घरमा डोजर चलाउनुले बुटवल उपमहानगरपालिकाले अदालतको समेत मानहानी गरेको हमालले आरोप लगाउनु भयो ।
घटनाको बिषयलाई लिएर हमालले आज बुटवलमा गर्नुभएको पत्रकार सम्मेलनमा बोल्दै पीडित हमालले आफूले सबै प्रकृया र मापदण्ड पूरा गरी खरिद गरेको जग्गामा निर्माण गरेको घर भत्काईनु मानवता विरोधि काम भएको बताउनु भयो । उहांले सबै कानुनी प्रक्रिया पुरा गरी निर्माण गरिएको घर बुटवल उपमहानगरपालिकाले जोर जवर्जस्ति भत्काएकाले सोको क्षतिपूर्ति माग गर्नु आफ्नो अधिकार भएको उहांले बताउनु भयो । अदालतले आफ्नो पक्षमा वा विपक्षमा निर्णय गरेपनि अदालतको निर्णयलाई स्वीकार गर्ने र सडक विस्तारको आफु विरोधि नभएको भन्दै पीडित हमालले सबै कानुनी प्रक्रिया पुरा गरी निर्माण गरिएको घरको बैकल्पिक ब्यवस्थाका लागि उपमाहानगरपालिका संग पटक पटक आग्रह गर्दा समेत कुनै सम्बोधन नभएकाले आफु न्यायको खाजीका लागि अदालत पुग्नु परेको हमालले वताउनु भयो । पीडित हमालले आफू सडक बिस्तारको बिरोधी नभएको र सो रुपमा आफुलाई चित्रण नगर्न समेत उहांले पत्रकारहरुलाई आग्रह गर्दै न्यायका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।
घटनाको निष्पक्ष छानविन गर्न माग
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिका वडा नं. ९ निवासी खिमबहादुर हमालको घरमा बुटवल उपमहानगरपालिकाले डोजर लगाई भत्काएको घटना प्रति तिलोत्तमा उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले उक्त घटनाको निष्पक्ष छानविन गर्न, अदालतको आदेश कुर्न र पीडित लाई उचित न्याय दिन माग गरेको छ ।
तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले बिहिबार प्रेस विज्ञप्ती जारी गरी अदालतमा बिचाराधिन मुद्धामा अमानवीय शैलिमा घर भत्काउनु अभिभावकको रुपमा रहेको स्थानीय सरकारले न्यायालयको अपहेलना गर्नुका साथै जनताप्रति संवेदनहिन र बिधिको शासन विरुद्ध काम गरेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा अमानवीय कार्यको छानविन गर्न माग गर्दै डोजर लगाएर भत्काईएका घरधनीलाई तत्काल उचित मुआब्जा सहित क्षतिपुर्ति प्रदान गर्न र दोषि उपर हदैसम्मको कारवाही गर्न सम्बन्धित निकायमा माग गरिएको छ ।
हमालको उक्त घर सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको र हिजो कै मितिमा पेशी रहेको अवस्थामा पेशीको समय समेत नकुरी एका बिहानै घरमा डोजर लगाउनुले न्यायालयको अपमान र व्यक्तिको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको विज्ञप्तिमा उल्लेख छ ।
अघिल्लो दिन राती मात्र सडक निर्माण समितिका संयोजक तथा नेकपा बुटवल नगर समितिका अध्यक्ष बाबुराम पन्थी र रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी घर सम्वन्धि मुद्धा फिर्ता लिन आग्रह गर्दै हमालको घरमा पुगेको र हमालले सहमतिका लागि मागेको समय सिमा भन्दा अगावै विना पूर्व सूचना एकाविहानै घरमा डोजर लगाउनुले घर परिवारलाई आतंकित पार्ने, घर भत्काई धनमालको समेत क्षति पुर्याउने र प्रतिशोध सांध्ने नियत प्रष्ट रुपमा देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
