बुटवल, १९ साउन । नेपाली काँग्रेस रुपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह, बुथ तथा वडा सभापतिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार भैरहवामा सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा काँग्रेसका नगर, गाउँ तथा वडा सभापतिहरु गरी १ सय ६० जनाको सहभागिता रहेको जिल्ला संगठन बिभागका प्रमुख बाशुदेव रिमालले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले लोकतन्त्रको भ्रम छरेर कम्युनिष्ट सरकारले दुई तिहाईको बलमा देशमा लुटतन्त्र मच्चाइ रहेको आरोप लगाउनु भयो । सरकारकै संरक्षणमा भ्रष्टाचार र बेथिति मौलाएको भन्दै उहाँले नेपाली काँग्रेसले गाँउ तहबाटै त्यसका बिरुद्ध आवाज उठाइरहेको बताउनु भयो । देश र जनताको सर्वोपरी हितकालािग नेपाली काँग्रेसलाइ अझ शसक्त र क्रियाशिल बनाएर अगाडी लैजाने अभियानमा लागिएको सभापति रज्जाकले बताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य इस्तियाक अहमद खाँ, पार्टीका उपसभापति फणेन्द्र शर्मा, सरिता चौधरी, सचिव रामकृष्ण खाँण, हरिप्रसाद काफ्ले, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्रिय सभापतिहरु क्षेत्र नंं २ का सभापति हरि लम्साल, १ का सभापति हिराबहादुर खत्री, ३ का सभापति मातृका यादव लगायतले धारणा राख्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेलले पार्टीको नीति, कार्यक्रम तथा संगठन र सदस्य बिस्तारका सम्बन्धमा प्रशिक्षण दिनु भयो ।
जिल्ला संगठन बिभागका प्रमुख बासुदेव रिमालले प्रशिक्षण कार्यक्रमको समापन गर्दै हरेक स्थानीय तह र गाउँ गाँउमा पुगेर पार्टी संगठनलाई विस्तार गर्ने काम बिभागले गरिरहेको बताउनु भयो । बिभागका उपप्रमुख बाबुराम भट्टराईको स्वागत र सचिव सुदर्शन नेपालको संचालमा कार्यक्रम भएको थियो ।
