तिलोत्तमा, १ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकका झोला निषेधित नगरपालिका घोषणा गरिएको छ । बुधबार बिहान मणिग्राममा एक बिशेष कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई प्लाष्टिकका झोला निषेधित घोषणा गरिएको हो ।
सो कार्यक्रममा सहभागि जनप्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, कर्मचारी लगायत सबैलाई प्रतिनिधि सभाका सदस्य तथा नेकपाका नेता घनश्याम भुसालले प्लाष्टिकका झोला, गिलास र चम्चा प्रयोग नगर्नेे सपथ खुवाउनु भएको थियो ।
नगरपालिकाले सरोकारवाला संघ–संस्थाहरुसँगको साझेदारीमा यो कार्यक्रलाई सफल बनाउन २०७५ वैशाख १ गतेदेखि नै प्लाष्टिकका झोला निषेधित अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको थियो । नगरपालिकाले यो अभियान संचालन गरेसंगै नगर क्षेत्रका कतिपय विद्यालयहरुले प्लाष्टिक झोला निषेधित घोषणा गरेका छन् । नगरपालिकामा विभिन्न संघ–संस्था, क्लब, टोल विकास संस्था, सहकारीलगायतले समेत प्लाष्टिक झोलाको विकल्पमा जुट, अल्लो, कपडाबाट बनेका झोलाहरु वितरण गर्दै आएका छन् । नगरपालिकाले प्लाष्टिक झोलाको विकल्पमा अन्य वस्तुबाट बनेका झोला वा वैकल्पिक साधनको प्रयोग गर्न नगरबासीमा आह्वान गर्दै आएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।
