तिलोत्तमा, ३० जेठ
स्नातक तह अध्ययन गर्ने विद्यार्थीको मासिक शुल्क घटाउने सहमति भएपछि राममणि बहुमुखी क्याम्पसमा अनेरास्ववियुले लगाएको ताला खुलेको छ ।
क्याम्पस सञ्चालक समितिसँग भएको छलफलमा मासिक शुल्क घटाउने र विद्यार्थी संगठनले उठाएका अन्य माग क्रमशः पूरा गर्ने सहमति भएपछि ताला खुलेको संगठनका अध्यक्ष योगेश पराजुलीले बताउनुभयो । अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै गत माघ १३ गतेदेखि क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो ।
क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीहरुका लागि लिइने मासिक शुल्कमा प्रतिमहिना एकसय रुपियाँ घटाउने र अन्य शुल्कहरु छलफलमा भएको सहमति अनुसार समायोजन गरिने बताउनुभयो । क्याम्पस प्रशासनले सूचना निकालेर शुल्क घटाइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
