नवलपरासी, २८ जेठ । पश्चिम नवलपरासीमा प्रहरीले दुई जनालाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार पाल्हीनन्दन गाउँपालिका २ मडेराबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले रामग्राम नगरपालिका ७ उजैनी निवासी ४१ बर्षीय चन्द्रिया राठौर र २१ बर्षीय अजय राठौरलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अमानिगंजको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु १३ प ४३६५ नम्वरको मोटर साइकल रोकी जाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाबाट प्रहरीले फेनारगन २३८ एम्पुल, डाइजापाम १५८ एम्पुल, नुफिन १९ एम्पुल गरी पाँच सय ९२ एम्पुल लागुऔषध बरामद गरेको छ । उनीहरु लागुऔषध वेचविखनमा सम्लग्न रहेको आशंकामा प्रहरीले यस अघिदेखि नै निगरानीमा राखेको थियो ।