भारतबाट आएकालाई कोरोना परीक्षण नगरी घर पठाउँदै कावासोती नगरपालिका
रामकुमार श्रेष्ठ
कावासोती, २७ जेठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई पिसिआर परीक्षण नगरी धमाधम घर पठाउन थालेको छ । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार मात्रै ३० जनालाई पिसिआर परीक्षण नगरी घर पठाइएको हो । उनीहरुलाई क्वारेन्टाइनमा बसेको १५ दिन नाघेपछि आरडिटी परीक्षण गरेर घर पठाइएको कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी गराउनु भयो ।
भारतबाट आएकालाई आरडिटी परीक्षण गरिएको भरमा मात्रै घर पठाइएपछि गाउँमा त्रास बढेको छ । कावासोती १३ का वडा अध्यक्ष विनोद राना मगरले विज्ञप्ति जारी गरेर आरडिटी परीक्षण गरेर क्वारेण्टाइनमा बसेकाहरुलाई घर पठाइएको जनाउनु भएको छ । आरडिटी परीक्षण विश्वसनीय नभईरहेको भन्दै त्यसको विश्वसनीयता माथि प्रश्न उठिरहेको बेला यसरी आरडिटी परीक्षणको भरमा घर पठाउनु खतरा भएको स्वयम् जनप्रतिनिधिहरुले समेत स्वीकार गरेका छन् ।
कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले आफूले वैठकमा पटक पटक पिसिआर गरेर मात्र घर पठाउन आग्रह गरेपनि नगरपालिकाले आरडिटी परीक्षणकै भरमा घर पठाउन थालेको बताउनु भयो । कावासोती नगरपालिका स्वास्थ्य प्रमुख कृष्ण नागिलाले सरकारको नीति निर्देशन तथा कोरोना कार्यविधि अनुसार नै आफूले काम गरेको बताउनु भयो । उहांका अनुसार नगरपालिकामा पटक पटक पिसिआर परीक्षणका लागि स्वाव संकलन गर्ने भिटिएम खरिदका लागि अनुरोध गरे पनि भिटिएम पनि नआउने र स्वाव संकलन गरेर पठाएको रिपोर्ट समेत बेलैमा नआउने भएपछि क्वारेण्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण मात्र गरिएको हो ।
कावासोतीमा अहिलेसम्म पाँच जनामा कारोना संक्रमण पुष्टि भएको छ भने १ सय ८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।