बुटवल १४ जेठ
कृषिमन्त्री घनश्याम भुसालले अब कृषिको बिकासले नै नेपालको अर्थतन्त्र जोगाउन सक्ने बताउनु भएको छ ।
रुपन्देही उद्योग संघले आयोजना मंगलवार गरेको नेपालको अर्थतन्त्र र औद्योगिक क्षेत्रको भविश्य बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भुसालले लकडाउनलाई एउटा अवसरको रुपमा लिदै कृषिको बिकासमा सरकारले ध्यान दिने बताउनुभयो ।
पर्यटन, रेमिटेन्सले घुंडा टेकेको अवस्थामा अब कृषिले अहिलेको अबस्थामा नेपालको अर्थतन्त्र माथि उठाउने उहाँले बताउनुभयो ।
कृषिजन्य सामाग्री सस्तो र सुलभ गराउदै युवालाई प्रोत्साहन गर्ने गरि सरकारले योजना बनाएको पनि उहांले बताउनुभयो ।
उहांले परम्परागत कृषि प्रणालीको बिकासले कृषिजन्य उद्योग बिकास गर्न सकिने समेत बताउनुभयो ।
कृषिमा लगानी, सुलभ ऋण दिने भनेपनि व्यवहारमा लागू नभएको भन्दै अब यस्ता सुलभ योजनामा सरकारले प्राथमिकता दिने बताउनुभयो ।
प्रदेश योजना आयोग प्रदेश नं ५ का पुर्व उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले लकडाउनका कारण आर्थिक रुपमा संघियतालाई असफल पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
श्रेष्ठले नेपालको अर्थतन्त्रको बलियो आधार औधोगिक क्षेत्रको बिकासबाट तयार हुने बताउदै उद्योगको बिकास बिना अर्थतन्त्र बलियो हुन नसक्ने बताउनु भयो ।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले लकडाउनका कारण उद्योग क्षेत्र धरासायी हुने अवस्थामा पुगेकोले उद्योगीहरुका लागि राहत प्याकेजको व्यवस्था गर्न आग्रह गर्नु भयो ।
कार्यक्रम रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ लुम्विनी स्टार्स संगको सहकार्यमा आयोजित उक्त कार्यक्रम उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
