काठमाडौं, ३० असार । अबिरल बर्षासंगै आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहानेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो ।
बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहहरीका अनुसार बाढी र पहिरोबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । सयौं वस्ती डुबानमा परेका छन् । पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । प्रहरीको तथ्यांक अनुसार देशका १४ जिल्लाका सडकहरुमा क्षति पुगेको छ । सडकहरु भत्किदा यातायात आवागमन समेत प्रभावित भएको छ ।