तिलोत्तमा, ९ जेठ । उपचारको क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको ३० घण्टा पछि शव उठाइएको छ । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा उठाइएको हो ।
अस्पाताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समयसम्म चलेको छलफलपछि नेपाली सेनाको गरुण दल बुटवलले शवको व्यवस्थापन गरेको हो । गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोलीले सुरक्षित तरिकाले शवको व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन कार्यविधि अनुसार संक्रमित व्यक्तिको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमित व्यक्तिको शव देवदह नगरपालिका १० को जंगलमा हिन्दु संस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । उहांले जिल्लामा यो नयाँ घटना भएको र परिवार, अस्पताल तथा शव व्यवस्थापनका लागि विभिन्न ठाउंमा समन्वय गर्नु परेकाले शव व्यवस्थापनमा ढिलाई भएको बताउनु भयो ।
शवको अन्तिम संस्कारमा मृतकका परिवार तथा आफन्त कसैलाई पनि सहभागि नगराइएको मृतकका भाईले जानकारी दिनुभयो । शव लगेको १ घण्टापछि मात्रै शव व्यवस्थापन गर्ने विषयमा सहमति जनाउन बाध्य भएको मृतकका भाईले वताउनु भयो । उपचारका लागि बैशाख ३१ गते राति ११ बजे रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पताल आईपुगेका उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।
जन्डिसले ग्रसित भएपछि क्रिमसन अस्पतालको आईसियूमा उपचार गराइरहेका उनको जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको तीनदिन पछि उनको मृत्यु भएको थियो । उनको मृत्यु नहुदै विभिन्न सञ्चार माध्यम र समाजिक संजालमा उनको मृत्यु भएको खवर सार्वजनिक भएको थियो । उनको मृत्यु नहुंदै मृत्यु भयो भनेर विभिन्न सञ्चार माध्यममा मृत्युको पुष्टि गरेको भन्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री र तिलोत्तमा नगरपालिकाका प्रमुख तथा मृत्युको समाचार प्रकाशन गर्ने सञ्चार माध्यमको चर्को आलोचना भएको थियो ।