बुटवल ३ जेठ
लकडाउनको अवस्थामा पनि नेपाल भित्रिएका भारतीय मालवाहक सवारीसाधनका चालक र सह–चालकको सीमामै स्वास्थ्य परीक्षण गर्न समाजवादी पार्टी रुपन्देहीले माग गरेको छ ।
भारतबाट दैनिकजसो भैरहवा भन्सारमा आउने मालवाहक ट्रक र कन्टेनरका चालक र सह–चालकको स्वास्थ्य चेकजाँच नगरी विभिन्न जिल्लामा पठाउने कार्य जोखिमपूर्ण भएको पार्टीको ठहर रहेको छ ।
शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका सिदार्थनगर नगरअध्यक्ष अर्जुन प्रसाद जयसवालले भारतीय सवारीसाधनका चालक र सहचालकहरूको स्वास्थ्य चेकजाँच गरेर मात्र नेपाल प्रवेश गराउन माग गर्नु भएको हो ।
त्यस्तै नेपाल भारत सीमामा अलपत्र नेपालीहरुको अवस्था दयनीय रहेकोले तत्काल उनीहरुको सीमामा स्वास्थ्य परीक्षण गरी नेपाल प्रवेश गराउन उहाँले माग गर्नु भएको हो ।
सीमा क्षेत्रमा बालबालिका, महिला, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिहरु समस्यामा परेकोले तत्काल उनीहरुको उद्धार गर्नुपर्ने जयसवालले विज्ञप्ती मार्फत माग गर्नु भएको छ ।
केही दिन अघि सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले नेपाली नागरिकलाई भैरहवा र तिलोतमा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखेकामा धन्यवाद दिन चाहन्छौ, छिमेकी राष्ट्र भारतले रेल सञ्चालन ल्याएको हुँदा हजारौको संख्यामा सीमा क्षेत्रमा नेपालीहरू आउने भएकोले जिल्लाको अन्य स्थानीय तहले पनि क्वारेन्टाइनको व्यवस्था गरी सीमा क्षेत्रमा अलपत्र नागरिकलाई राख्नुपर्छ, विज्ञप्तीमा भनिएको छ ।
