बुटवल, २७ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को कहरका कारण धेरै मानिसहरु होम क्वारेन्टाइनमा छन् । सधैं व्यस्त रहने राजनीतिज्ञ, उद्योगी व्यवसायी, शिक्षक, पत्रकार लगायत विभिन्न क्षेत्रका पेशाकर्मी अहिले फुर्सदमा छन् । उनीहरुको लकडाउन अनुभव कस्तो छ त ? हामीले उनीहरुको अवस्था र धारणा बुझ्ने प्रयत्न गरेका छौं । प्रस्तुत छ उनीहरुको लकडाउनको अनुभव र धारणा उनीहरुकै शब्दमा ।
‘कोरोना भुसको आगो झैं फैलिन सक्छ’
हरि लम्साल, क्षेत्रिय सभापति, रुपन्देही क्षेत्र नम्वर २
चिनबाट सुरु भएको कोरोना भाईरस विरुद्ध विश्व नै लडिरहेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । कोरोना भाईरसको संक्रमणको असर हरेक क्षेत्रमा देखिन थालेका छन् । सार्वजनिक स्वास्थ्यको यो सङ्कटको समाधान कसरी हुन्छ भन्ने अझैसम्म अनिश्चित छ । लकडाउनको कारण मानिसहरुको दैनिकी समेत परिवर्तन भएको छ । मेरो आफ्नै कुरा गर्दा कोरोनाबाट बच्न घरमै वस्दा अध्ययन गर्ने मौका मिलेको छ । मेरो जीवनकालमा घरमा परिवारसंग यसरि बस्ने मौका पहिलो पटक मिल्यो । कोरोनाको त्रासका विच पनि घरमै रहदाँ परिवार खुशी भएको मैले महशुस गरेको छु ।
लकडाउनका कारण बिहान देखि साँझसम्म विभिन्न क्षेत्रका साथीहरुसंगको राजनीतिक तथा अन्य छलफल गर्ने अवसर गुमेको छ । ती साथीभाईहरुलाइ मैले मिस गरिरहेको छु । तर पनि टेलिफोन तथा सामाजिक सञ्जालको माध्यमबाट लकडाउनको कारण देखिएका विभिन्न समस्याहरु सुल्झाउन छलफल गरिरहेको छु । कोरोनाको कुरा गर्दा विश्वलाई नै नकारात्मक असर परेको अवस्था छ । नेपालमा त यसको नकारात्मक असर समाजको हरेक क्षेत्रमा परेको छ ।
लकडाउनले कोरोनाको संक्रमण फैलिन नदिन केही फाईदा त गरेको छ । तर यो तरिकाको लकडाउन ले मुलुकलाई अधोगतिमा लैजाने निश्चित छ । मुलुकको आर्थिक अवस्था धराशायी हुदै छ । त्यसलाई मध्येनजर गरेर मुलुकलाई प्रभावित क्षेत्रको आधारमा रेड, अरेन्ज र ग्रिनजोन छुट्टाएर सोही अनुसार गतिविधिहरु सञ्चालन गर्नु पर्दछ भन्ने मेरो मान्यता छ । आर्थिक क्षति कति गहिरो हुन्छ भन्ने एकिन छैन । नेपाल अहिलेसम्म मानवीय क्षतिबाट जोगिन सके पनि यसले अर्थतन्त्रमा चौतर्फी असर पार्ने सँकेतहरू देखा परिसकेका छन् ।
लकडाउन खुलेपछि केही समय अवस्था नाजुक हुन्छ भन्ने मलाई लागेको छ । सरकारले सम्भावित भयावह शँकटसँग जुध्न आवश्यक तयारी र सतर्कता अपनाएको छैन । कोरोना नियन्त्रणका लागि गर्नुपर्ने महत्वपूर्ण कुरामा सरकार चुकेको छ । सरकार अहिले आफ्नो सत्ता बचाउनमा मात्र केन्द्रित रहेको अवस्था छ । देश र जनताको मतलब छैन । कोरोनाको टेष्ट गर्ने सामग्री अझै अभाव छ । सरकारले खरिद गरेको सामग्रीको पनि विश्वसनियतामा शंका भैरहेको अवस्था छ । यसकारण पनि भविष्यमा कोरोना संक्रमण भुसको आगो झैं न सल्केला भन्ने अवस्था छैन ।
सामाजिक दुरी कायम राखौं
माधब अर्याल
पत्रकार कान्तिपुर
मेरो दैनिकीको कुरा गर्दा सामान्य नै छ । तर कोरोना भाइरसको त्रास भने कायमै छ । त्रास जति छ, तर त्यसलाइ जित्छु भन्ने आत्मवल पनि उत्तिकै छ । लकडाउनले गर्दा विभन्न खालका सोंच आउने गर्छ । सामान्य अवस्थाको जीवन अहिले छैन जस्तो पनि लाग्छ । मेरो जीवनमा धेरै अन्योल सिर्जना होला जस्तो हुन्छ । समाजको कुरा गर्ने हो भने कित हातहतियार सहितको लडाइ लड्नु पर्ने रहेछ र ? भन्ने खालका प्रश्न गर्छन । खै कोरोनाले लैजाने हो कि भन्छन् । सबै चिन्तित छन् ।
लकडाउनले गर्दा धेरै मान्छेको भीड हुन पाएको छैन । भाइरससँग जोगिने एउटै उपाय सामाजिक दुरी कायम गर्ने, घरबाहिर भीडभाडमा नजाने भन्ने नै रहेछ । त्यसैले मान्छेले भनेको मान्दैनन् तर पनि सामाजिक दुरी कायम गर्नु पहिलो काम हो ।
लकडाउन खुलेपछि मान्छेमा चेतना बढ्यो भने मात्र राम्रो होला होईन भने यो भाइरसको त्रास कायम नै रहन्छ । जसका कारण सामाजिक दुरी कायम राख्न आग्रह गर्नु पर्छ । भीडभाड हुने स्थलहरू अहिले नै खोल्नु हुँदैन । तत्काल लकडाउन खुल्ने र भीडभाड हुने स्थानमा पहिलाको जस्तै भीड हुने हो भने समस्या नै हुने पक्का छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको प्रयास प्रभावकारी भनेको लकडाउन मात्र हो । सकारात्मक सोचबाट हेर्ने हो भने पहिलो पटक कोरोना परीक्षणको लागि हङकङ लग्नु परेको अवस्था थियो भने अहिले नेपालकै विभिन्न ९ स्थानबाट परीक्षण गर्ने ब्यवस्था मिलाईएको छ । यो राम्रो पक्षा हो । तर किट पर्याप्त नहुनु, पिसिआर मेशिनले राम्रो काम नगर्नु, स्वाब संकलनमा ढिलाइ लगायत भने प्रभावकारी हुन सकेको छैन ।
राहत बितरण सन्तोषजनक भएन
डा.ज्ञान देब हटुवाल
संस्थापक प्रिन्सीपल
सन शाइन आवासीय मा.बि भैरहवा
सरकारले गरेको लकडाउनलाई पुर्णरुपमा पालना गर्दै निवासमै छु । विशेष गरि यो समयमा अध्ययन, लेखन कार्य र संचार सम्पर्कमा रहेर दिन ब्यतित भैरहेका छन् । कोरोनाको कारण निजी जीवन र समाजको सामाजिक, साँस्कृतिक, आर्थिक ोत्रमा नकारात्मक प्रभाब पारिरहेको छ । तर लकडाउनले कोरोनाबाट जोगिनका लागि सुरक्षाको प्रत्याभूति गराएको छ । लकडाउनले वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाब पारेको पनि छ । पारिवारिक आत्मीयता र दायित्व समेत बढाएको ।
लकडाउन खुलेपछि आर्थिक अवस्थामा ठूलो गिरावट आउने निश्चित प्रायः छ । सामाजिक दूरी हटेता पनि पूनः भुकम्पको त्रासझैँ महामारीको त्रास पनि हरेक नागरिकको मानस्पटलमा रहिरहने छ ।
सरकारले संचालन गरेको सचेतना सम्बन्धि सेवा कार्यक्रम र सो को लागि खटिएका स्वास्थ्यकर्मी, प्रहरी र केहि जन प्रतिनिधिको भूमिकालाई धन्यवाद दिनै पर्छ । यस विचमा राहत बितरण कार्यक्रम सबै ठाउँमा सन्तोषजनक रहेको देखिएन । स्वदेश तथा बिदेशमा अलपत्र परेका नागरिकलाई आ–आफ्नो बासस्थानमा पुर्याउने काममा सरकारले तदारूकता नदेखाएकोले गर्दा नेपाली दाजूभाई दिदि बहिनीले निकै कष्ट भोगिरहेको देखियो । स्वास्थ्य उपचारका सामाग्रीको ब्यबस्थापनमा समेत निकै कमी र बिवाद देखियो । यो दुःखद कुरा हो ।
लकडाउनको बिकल्प खोजिनु पर्छ
खेमराज रेग्मी
सञ्चारकर्मी बुद्ध टेलिभिजन
अहिलेको विषम परिस्थितिमा लक डाउनलाई उत्तम बिकल्पका रुपमा प्रस्तुत गरिनु राम्रो हो । तर लामो समयको लकडाउनको कारण बडो असहज महसुस भएको छ । म सञ्चार क्षेत्रसँग आवद्द भएकोले आफ्नो कर्ममै समय बितेको छ । यो विषम परिस्थितिले मलाई मात्र होईन संसारका हरेक नागरिकलाई अप्ठ्यारो पारेको छ । हिजोको ब्यस्त जीवन ब्यस्त समाज अहिले कति बेला के हुने भन्ने स्थितिमा छ ।
लकडाउनले यो महामारीबाट जोगिन भूमिका त खेल्यो तर यो कहिलेसम्म भन्ने सीमा नै भएन अब लकडाउनको पनि विकल्प खोजिनु पर्छ । नेतृत्व बर्गले इमान्दारीपूर्वक जनताको स्वास्थ्यमा खेलबाड नगर्ने हो भने समस्याको समाधान हुन्छ । सरकार काम कुरा एकातिर कुम्लो बोकी ठिमितिर भन्ने उखानसँग मिल्दोजुल्दो काम गर्दै छ । महामारीले भयानक रुप लिदै छ तर सरकार आफ्नै आन्तरिक खिचातानीमा अल्झिएको छ । यस्तो निकम्मा पनले यो माहामारी नियन्त्रण हुनेवाला छैन ।
मुलुक गृह युद्धमा फस्ने खतरा छ
कमला थापा
केन्द्रिय उपाध्यक्ष
राष्ट्रिय जनमुक्ति पार्टी
मेरो पनि दैनिकी आम मानिसहरुको जस्तै वितेको छ । बिहान उठ्ने र योगा ब्यायाम लगायत सामान्य घर भित्र गर्नुपर्ने कामहरूले नै निरन्तरता पाएका छन् । लकडाउनमा बिश्वमा घटेका महत्त्वपूर्ण घटना हरुको बारेमा आएका समाचार र विभिन्न कालखण्डमा लेखिएका महत्त्वपूर्ण पुस्तकहरु अध्ययन गरिरहेको छु ।
मेरो जीवनमा र समाजमा कोरोनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारेको छ । मानसिक रुपमा तनाव बढाएको छ । दैनिक कार्यमा, ब्यबसायमा असर पारेको छ । समाजमा हुने गतिबिधिमा सहभागि हुन पाईएको छैन । समाजमा एक किसिमको त्रास उत्पन्न भएको छ । वर्षभरीका लागि बनाएको योजना सबै चौपट भएका छन् ।
मेरो विचारमा कोरोना सँक्रमण रोक्नाका लागि लकडाउनले राम्रो गरे पनि यसले बढी नराम्रो नै गरेको छ । विश्वका धेरै मानिसले लकडाउनकै विचमा जीवन गुमाउनु परेको छ । तथापि यसले धर्तीको पर्यावरण लाई भने पक्कै पनि सुधारेको छ । यसले विश्वव्यापी रूपमा एउटा सभ्यताको निर्माण गरेको छ । पश्चिमा संस्कृतिमा रमाइरहेको हाम्रो मुलुक र हामीलाई पूर्विया संस्कृति र सभ्यताको स्मरण गराएको छ । हाम्रो आफ्नै संस्कृति र सभ्यता हात नमिलाई नमस्ते गर्नु, साबुन पानीले हात मिची मिची धुनु, ताजा खाने कुरा खानु, बासी खाने कुरा नखानु, तताएको पानी पिउनु इत्यादी । यस्तै लकडाउनले ध्वनी, धुवाँ, धुलोबाट हुने प्रदुषण कम गराएको छ । समग्र प्राणी लाई आबश्यक पर्ने स्वच्छ र स्वस्थ्य वातावरण निर्माण भएको छ ।
लकडाउन खुले पछि नेपालीको सामु चुनौती र अवसर दुवै हुने छन् । धेरै कल कारखाना, उद्योग धन्दा, होटल ब्यबसाय आर्थिक संकटमा पर्ने भएकोले धेरै मजदुर हरू जागिर विहिन हुने छन् । देशमा आर्थिक मन्दीको कारण गरिब निमुखाहरूलाई बाच्न गाह््रो हुने छ । रोजगारको लागि विदेशिएका धेरै युवाहरू देश मै केहि गरौ भन्ने सोच बोकेर देश मै फर्कने छन् । यो समय सरकारले सबै युवाहरु लाई भेदभाव नगरी रोजगार वा ब्यबसाय गर्ने वातावरण मिलाइदिन सकेमा अवश्य पनि मुलुक समृद्ध बन्ने छ अन्यथा मुलुक गृह युद्धमा फस्ने छ ।
सरकारले कोरोना रोकथामका लागि गरेको प्रयास झारा टार्ने प्रबृत्तिको छ । साँच्चै भन्ने हो भने कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार संग कुनै योजना नै छैन । सरकारलाई जनताको जीवन प्रति कत्ति चिन्ता छैन । सरकार जनता प्रति उत्तरदायी हुने भए यस्तो विश्वव्यापी कोरोना महामारीको समयमा ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने उखान जस्तै यस्तो महामारीका विचमा सरोकारै नभएको अध्यादेश ल्याएर बखेडा गर्ने थिएन ।