नवलपरासी, १७ बैशाख । साउदी अरबबाट आएका भोजपुरका एक जनामा कोरोनाको सँक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना र उनका परिवारका सदस्यहरु सहितको ७ जनाको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मंगलवार उनीहरुको स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना साउदी अरवबाट भोजपुरका सँक्रमित आएको जाहाजमा संगै आएका थिए । उनीहरु फागुनको अन्त्यतिर नेपाल आई सेल्फ क्वारेन्टाइनमा बसेका थिए । तथापि सँगै जहाजमा आएका भोजपुरका एक जनामा कोरोनाको सँक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना, उनीहरुका परिवार र उदयपुरबाट आएका १ जना गरी ७ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा स्वाव संकलन गरी पोखरा पठाइएको र आज (बुधवार) पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंका अनुसार जिल्लामा आज (बुधवार) सात जनाको आरडिटी बाट परीक्षण गरिएकोमा उनीहरु सवैको नतिजा नेगेटिभ आएको छ ।