तिलोत्तमा, २८ असार । तिलोत्तमा नगरपालिकामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिवार सौभाग्य र डिएमसी भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोस्रो सेमिफाईनल खेलमा स्मृति स्पोर्ट्स एकेडेमीलाई पराजित गर्दै सौभाग्य युवा क्लब बुटवल फाईनलमा प्रवेश गरेको हो । तिलोत्तमा –१ स्थित चप्परहट्टी खेलमैदानमा भएको खेलमा सौभाग्य युवा क्लव ३–१ गोल अन्तरले विजयी भएको हो । पहिलो सेमिफाईनल खेलमा पाल्पा–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै डिएमसी युवा क्लव यसअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो । उपाधिका लागि फाईनल प्रतिष्प्रधा आज शनिबार हुने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा खेल संचालन गरिएको हो । शुक्रवारको खेलमा स्मृतिका अरुण गाहाले ७ औ मिनेटमा गोल गर्दै खाता खोलेपनि त्यसपछि स्मृतिका कुनै खेलाडीले गोल गर्न सकेनन् । सौभाग्यका दिपेश आलेले ९ औ, बिशाल ठकुरीले ५४ औ र शरद क्षेत्रीले ६० औ मिनेटमा गोल गरेका थिए । खेलमा सौभाग्यका शरद क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ तथा उपविजेतालाई ५५ हजार ५ सय ५५ साथै मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा उत्कृष्ट एक–एक जना डिफेन्डर, स्टाईकर, गोलकिपर र कोचलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने एकेडेमीका महासचिव युबराज पराजुलीले जानकारी दिनुभयो । असार १३ देखि शुरुभएको प्रतियोगितामा रुपन्देही र पाल्पा जिल्लाका गरि १६ टिमले सहभागिता जनाएका थिए ।