घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगको आह्वान
बुटवल, १३ बैशाख । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु भएको छ । आज (शनिबार)देखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभर केही नखाई निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।
हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गर्दछन् ।
विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला यो पर्व परेकाले कोरोनाको जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ । आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने चलन भए पनि कोरोना जोखिमका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको हो ।
रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
कुनै पनि शारीरिक वा स्वास्थ्य समस्या भएका बाहेक इस्लाम धर्म मान्नेहरु हरेक बयस्क व्यक्तिलाई रोजा राख्न अनिवार्य हुन्छ । तर, बिरामी, गर्भवती महिला र अशक्तलाई भने रोजा बस्न छुट रहेको छ ।
हाल कोरोना भाइरसको महामारीसँगै रोजाका विषयमा पनि धेरै चर्चा र चिन्ता व्यक्त भइरहेको छ । रमजानमा खान हुने समयमा शरीरलाई आवश्यक पर्ने क्यालोरी युक्त खानेकुराहरु खानुपर्ने चिकित्सकहरुको सुझाव छ । चिकितसकहरुका अनुसार फलफूल, दाल, तरकारीको सेवन गर्नु राम्रो हुन्छ । रोजाका क्रममा मानिसहरु बिना खानपिन बस्ने हुँदा आफ्नो धर्म पालना गर्दै आफ्नो स्वास्थ्य प्रति विशेष ध्यान दिन पनि चिकित्सकहरुले आग्रह गरेका छन् ।