बुटवल, १ बैशाख । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
विश्वका हरेका ठाउँमा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । विगतका नयाँ वर्ष विभिन्न ठाउँ घुमफिर, रमाईलो अनि साथी भाई संग भेटघाट र एक आपसमा शुभकामना आदान प्रदान गरी मनाउने गरिएको मा यो नयाँ वर्ष भने अन्य नव वर्षहरु भन्दा धेरै फरक तरिकाले मनाउनु परेको छ । विगतमा जस्तो नयाँ वर्षमा एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राखेर मनाउनु परेको छ । यो नयाँ वर्षको उत्साहलाई सबैले आफ्नै घर आँगनमा सिमित राखेर मनाउनु परेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीको रोकथाम र यसको उच्च जोखिम र संक्रमणबाट बच्नका निमित्त सरकारले गरेको लकडाउनको पालना गर्दै सम्पूर्ण नेपालीहरुले घरमै सतर्क र सुरक्षित बसेर २०७७ सालको नयाँ वर्ष मनाउदैछन् । वास्तवमा हामीले आजको दिन सुरक्षित भएर आआफ्नै घरमा बसेर नयाँ वर्ष मनाउदै गर्दा हामी यो महामारीबाट सुरक्षित रहनेछौं । सबैले आज आफ्नै घर आँगनमा बसेर गत वर्ष गरेका कामको सफलता–असफलता मूल्यांकन गरौं, असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गरौं ।
यो वर्ष देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि लागेन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै मन्दिरहरुमा नित्य पूजामात्र गरिएको छ भने धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर लकडाउन भएकाले मानिस घरमै बसेका छन् ।
नयाँ वर्षमा सबैको हृदयमा शान्ति र शरीरमा कान्ती छाओस् । सबैको कल्याण होस, प्रकृतिले माया गर्ने र प्रकृतिलाई माया गर्ने समाजको विकास होस् । नयाँ वर्ष २०७७ को सबैमा मंगलमय शुभकामना !