नेटको पहुंच नहुंदा बन्चित हुनुपरेको विद्यार्थीको गुनासो
श्यामलाल पोखरेल
बुटवल, २९ चैत । काठमाण्डौ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुले अनलाइन पद्वतिमा पढाई सञ्चालन गरेका छन् । संसारभर फैलिएको कोराना भाईरसका कारण सरकारले लकडाउन गरेपछि पढाई प्रभावित भएपछि मेडिकल कलेजहरुले अनलाइन पद्वतिबाट पढाई शुरु गरेका हुन् ।
काठमाण्डौ विश्वविद्यालय अन्तर्गत प्रदेश पांचमा सञ्चालित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा, देवदह मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजले गत बिहीबारदेखि अनलाइनबाट पढाई शुरु गरेका हुन् । विद्यार्थीले पढ्नैपर्ने कोर्ष नसकिने भएपछि अनलाइनबाट पढाइ सञ्चालन गरिएको लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी गराउनु भयो । मोवाइलबाट पनि विद्यार्थीलाई घरमै बसेर पनि पढ्न मिल्ने गरी अनलाइन सेवा उपलब्ध गराइएको अध्यक्ष पोखरेलले बताउनु भयो ।
मेडिकल कलेजहरुले अनलाइनबाट पढाइ सञ्चालन गर्नु राम्रो भएपनि कलेज बन्द भएपछि पहाड तिर गएका विद्यार्थी अनलाइनको पहुंचमा नहुंदा धेरै विद्यार्थी बन्चित हुनु परेको विद्यार्थी झरना भुसालले बताउनु भयो । पहाडतिरका सबै जिल्लाहरुमा नेटको सुविधा नभएका कारण अनलाइन पद्वतिको पढाइबाट विद्यार्थी बन्चित भएको विद्यार्थीको गुनासो छ । काठमाण्डौ विश्वविद्यालय अन्तर्गतका तीनवटा मेडिकल कलेजमा ११ सय २५ बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा ५ सय रुपन्देहीको देवदह मेडिकल कलेजमा १ सय २५ बढी र नेपालगञ्ज मेडिकल कलेजमा ५ सय विद्यार्थी छन् । पहाडी जिल्लामा गएका अधिकांस विद्यार्थीले इन्टरनेटको अभाव हुंदा आफुहरुको पढाइ छुटेको र कलेज आउनका लागि गाडी नचलेकाले समस्या भएको गुनासो गरेका छन् । सम्बन्धित मेडिकल कलेजहरुले गाडीको व्यवस्था गरे आफुहरु कलेज फर्किएर पढाइलाई निरन्तरता दिने विद्यार्थीले नाम नबताउने सर्तमा बताएका छन् ।