बुटवल, २६ चैत । प्रदेश ५ को सामाजिक विकास मन्त्रालय र मृतकका आफन्त विच भएको सहमति पछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएका छन् । बुधबार सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा तीन बुंदे सहमति संगै थापाको शब बुझ्न परिवार सहमत भएका हुन् ।
सहमति अनुसार मृतकको परिवारलाई समुदायको पहलमा उचित राहत दिने, मृतककी श्रमितीलाई सैनामैना नगरपालिकाले रोजगारीको ब्यवस्था मिलाउने र सामाजिक विकास मन्त्रालयले मृतकका दुई छोरालाई कक्षा १२ सम्म अध्ययन गराउने सहमति भएको वार्तामा सहभागि पूर्व सभासद विनोद पहाडीले वताउनु भयो ।

पहाडीका अनुसार राहतका लागि पाल्पाली समाजको पहलमा ५ लाख ५० हजार, टण्डन समाजका शँकर टण्डन र कर्णबहादुर टण्डनको पहलमा १ लाख ५० हजार र मृतकका दाजुभाई बाट १ लाख सहित ८ लाख बढि संकलन भैसकेको छ ।
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ६ मा स्थायी घर भै रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ सिसौडाँडामा भाडामा बस्दै आएका ३४ बर्षिय बाबुराम थापाको चैत १६ गते मृत्यु भएको थियो ।
कोरोनाको आशंकामा १३ गते कोरोना अस्पताल पुगेका थापाको मृत्यु भइसकेपछि आएको रिपोर्टमा भने उनलाई संक्रमण नभएको पाइयो । समयमा उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृतककी श्रीमती रिता थापाले छानविन नभएसम्म श्रीमानको शव नबुझ्ने अडान लिएपछि शव उठ्न सकेको थिएन । उनको मागको सुनुवाई कहि कतैबाट नभएपछि मृत्यु भएको ११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको थियो ।
सहमतिअनुसार लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको थापाको शव परिवारले बुझेर अन्तिम संस्कार गर्ने तयारी गरेका छन् । दाह संस्कारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने छ । उनको तिनाउ नदि स्थित मगर घाटमा अन्तिम संस्कार गरिने मृतकका आफन्त कर्णबहादुर टण्डनले वताउनु भयो ।
चैत पहिलो साता दुबईबाट नेपाल फर्किएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका र सोही दिन धागो कारखाना स्थित कोरोना अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १६ गते सोही अस्पतालमा निधन भएको थियो ।