बुटवल, २६ चैत । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको छ । लकडाउनका कारण सवारी साधन नचल्दा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि अस्पतालले निःशुल्क बस संचालन गर्न लागेको हो ।
विगत दुईवर्ष देखि नवलपरासीको बर्दघाट र तिलोत्तमाको मणिग्राम सम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले विहिबारदेखि कपिलवस्तुको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको हो ।
नियमित रुपमा मिर्गौलाको डायलाईसिस गर्न आउने कतिपय विरामीहरु लकडाउनको कारण महंगो भाडा तिरेर एम्बुलेन्स मार्फत अस्पताल आउनु पर्ने र कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य भएको अवस्थालाई मध्येनजर गरी उनीहरुको सुविधाका लागि निःशुल्क बस सेवा संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले वताउनु भयो ।
हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कपिलवस्तुका कतिपय विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि अस्पतालले बस संचालन गर्न लागेको हो । अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले विहिबार र सोमबार हप्ताको दुईदिन कपिलवस्तुको कोईली बनगाईसम्म बस संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष आलमले जानकारी गराउनु भयो ।
विहिबार र सोमबार विहान नौं बजे बनगाईबाट बस छुट्ने भएकोले नौं बजेभित्र सडकमा आईपुग्न अस्पतालले विरामीहरुलाई आग्रह गरेको छ । हाल फरकफरक दिनमा डायलाईसिस गराउंदै आएका सो क्षेत्रका विरामीहरुको समय विहिबार र सोमबार मिलाएर भएपनि सेवा दिन लागिएको अध्यक्ष आलमले जानकारी दिनुभयो । डायलाईसिसको लागि विहान अस्पताल ल्याएका बिरामीहरुलाई डायलाइसिस गरिसकेपछि सांझ ४ बजे बनगाई सम्म नै छोड्ने ब्यवस्था अस्पतालले मिलाएको छ ।
कपिलवस्तु सम्म बस सेवा संचालन हुने भएपछि बुटवलदेखि पश्चिम सैनामैना, सालझण्डी, रुद्रपुर समेतका सबै विरामीलाई समेत राहत मिल्ने छ । हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ जना विरामी नियमित डायलाईसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका अस्पतालले जनाएको छ ।
