तिलोत्तमा, १६ चैत । तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा होराईजन गौतमबुद्ध माबिले १ लाख १ हजार आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय विपदका बेला आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर आर्थिक सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले बताउनुुभयो । उहाँले कोषमा जम्मा भएको रकम पारदर्शी रुपमा समयमै लक्षित बर्ग सम्म पुर्याउन पनि आग्रह गर्नुभयो ।
त्यस्तै विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले यस्तो संकटका बेला आआफ्नो ठाउंबाट सक्दो सहयोग गरेर प्रकोप ब्यावस्थापनमा स्थानीय सरकारसंग हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो ।
नगरपालिकाको आह्वानसँगै सो कोषमा बिभिन्न व्यक्ति, संघ—संस्था, विद्यालय तथा सहकारीले सहयोग गरेकाछन् । कोषमा अहिले १ कारोड बढि रकम जम्मा भईसकेको नगरपालिकाले जनाएको छ ।
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । प्रकोप जुनसुकै बेलापनि आउन सक्ने भएकाले त्यसको पूर्व तयारीकालागि कोषलाई मजबुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
कोरोना संक्रमणको जोखिम पूर्व तयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शँकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँअहिले २७ जना बसेका छन् ।
यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाकटार्न समस्या भएका प्रति परिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन समेत वितरण गरिरहेको छ ।
