बुटवल, १६ चैत । नेपाली काँग्रेस प्रदेशसभा संसदीय दल प्रदेश ५ ले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री तथा आवश्यक स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेस संसदीय दलका कार्यवाहक नेता बिरेन्द्रकुमार कानोडियाले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि ब्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामाग्रीहरूको अविलम्ब व्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
संसदीय दलका कार्यबाहक नेता कानोडियाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई टेलिफोन गरी कोरोना भाइरस (कोभिड–१९)विरुद्धको अभियानमा तिब्रताका साथ लाग्न आग्रह गर्दै औषधी र स्वास्थ्यसम्बन्धि उपकरणहरू प्रदेशका सबै जिल्लामा पुर्याउन आग्रह गर्नुभएको हो । टेलिफोन सम्वादका क्रममा नेता काना्डियाले प्रदेश ५ का सबै जिल्लामा कोरोना विरुद्धको उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न र उनीहरुहरुलाई आवश्यक पर्ने सामाग्रीको अभाव हुन नदिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
यो अभियानमा नेपाली काँग्रेस संसदीय दल सरकारलाई सहयोग गर्न तयार रहेको समेत नेता कनौडियाले मुख्यमन्त्री पोख्रेललाई बताउनु भएको छ ।
नेता कानोडियाले प्रदेश ५ का सबै जिल्लाहरूमा कोरोना भाइरसको संक्रमणको नमूना परीक्षणको व्यवस्था गर्न मुख्यमन्त्री पोखरेलसँग आग्रह गर्दै सरकारी एवम् स्थानीय उद्योग वाणिज्य संघमार्फत सुरक्षात्मक उपायसहितका अनलाइन र सहुलियत घुम्ती सेवाको व्यवस्था गर्न पनि मुख्यमन्त्री पोख्रेललाई सुझाव दिनुभएको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने र अति निम्न वर्गलाई दैनिक गुजारा चलाउन समस्या परेकाले प्रदेश र स्थानीय सरकारले समन्वय गरि निम्न वर्गका जनतालाई राहतका कार्यक्रम ल्याउन पनि नेता कनोडियाले आग्रह गर्नुभएको छ । जवाफमा मुख्यमन्त्री पोखरेलले आइतबार सबै जिल्लामा कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने सामाग्री पठाउने आश्वासन दिनुभएको नेता कानोडियाले जानकारी दिनुभयो ।