बुटवल, १६ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले (आज) आइतबार प्रदेश ५ का ७ जिल्लामा रहेका १२ वटा शाखा दिउसो १ बजेसम्म खुला हुने जनाएको छ । लकडाउनको अवधिमा पनि आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न जिल्लामा रहेका शाखाहरु आवश्यकता अनुसार दिउसो एकबजेसम्म सञ्चालन गर्दै आएको छ ।
जस अनुसार आज मुख्य शाखा कार्यालय रुपन्देहीको बुटवलस्थित ट्राफिकचोक, भैरहवा शाखा र तिलोत्तमाको शंकरनगर शाखा, सैनामैनाको मुर्गिया शाखा, पाल्पाको तानसेन शाखा, गुल्मीको तम्घास र शान्तिपुर शाखा, नवलपरासी (पश्चिम)को परासी शाखा, अर्घाखांचीको चुत्राबेशी शाखा, प्युठानको भिंगृ शाखा, बांकेको कोहलपुर शाखा र अगैया शाखा सञ्चालनमा रहने बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिनुभयो ।

लकडाउनका अवधिमा पनि आफ्ना ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर हरेक दिन फरक फरक शाखा दिउसो १ बजेसम्म खुला राखेर सेवा प्रवाह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय र चार लाख भन्दा बढी ग्राहक रहेपनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरेर लकडाउन अवधिसम्म सबै शाखाहरु सञ्चालन नगरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा आवश्यकता अनुसार पालैपालो विभिन्न जिल्ला र स्थानका शाखाहरु सञ्चालन गरिएको बैंकले जनाएको छ । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ ।