बुटवल, १४ चैत । लायन्स क्लव अफ बुटवल युथले दैनिक मजदुरी गरी घर गुजारा गर्ने सुकुम्वासी मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको छ । तिनाउ नदि किनारमा बसोवास गर्ने ज्यालादारी मजदुरलाई खाद्यान्न अभाव हुन थालेपछि क्लवले खाद्यान्न वितरण गरेको हो ।
कोरोना भाइरसको संक्रमण र उच्च जोखिमबाट बच्न नेपाल सरकारले चैत ११ गते देखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका सुकुम्वासी मजदुर परिवालाई छाक टार्न समस्या भएपछि क्लवले चामल, दाल र नुन वितरण गरेको क्लवका अध्यक्ष दिपक श्रेष्ठले बताउनु भयो ।
पहिले सहज अवस्थामा दैनिक मजदुरी गरी खाद्यान्न ल्याएर परिवारको गुजारा गर्दै आएकी लक्ष्मी विकले मुलुक लकडाउनका कारण काम बन्द भएकाले छाकटार्न समस्या भएपछि क्लवले दिएको खाद्यान्न राहत बुझेको बताउनु भयो ।

बुटवल ५ स्थित राधाकृष्ण मन्दिरमा खाद्यान्न राहत लिन आएका तारा विक, मदन सुनार, सरिता रोका, आनन्द दर्जी, शारदा भण्डारीलगायतले लकडाउनका कारण काम बन्द भएको र काम बन्द हुंदा छाक टार्न समस्या भएका बेला हाम्रो समस्यालाई बुझेर लायन्स क्लव बुटवल युथले गरेको खाद्यान्न वितरणले ठूलो राहत मिलेको बताउनु भयो ।
क्लवले बुटवल उपमहानगरपालिका ५ र ६ वडाका ५० घर धुरी परिवारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देही र प्रहरी संगको समन्वयमा ब्यक्ति विच निश्चित दुरी कायम गरी प्रति परिवार ५ किलो चामल, १ किलो दाल र एक पोका नुन वितरण गरिएको क्लवका सचिव विष्णु काफ्लेले जानकारी गराउनु भयो ।

ती वडामा दैनिक ज्यालादारी गरी विहान बेलुकाको छाक टार्नेको संख्या धेरै छ । तर, क्लवले पहिलो चरणमा दैनिक ज्यालादारी गर्ने मध्ये अति विपन्न ५० घर धुरी छनोट गरी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको खाद्यान्न वितरण कार्यक्रमका संयोजक मनमोहन गुभाजुले बताउनु भयो ।
दैनिक ज्यालादारी गरी परिवारको हातमुख जोड्ने मजदुर परिवारलाई तत्कालको राहतका लागि क्लवका पदाधिकारी तथा सदस्यहरुले ३० हजार बराबरको खाद्यान्न् वितरण गरेको र आगामी दिनमा यस्तै असहज अवस्था रहेर मजदुर परिवारलाई छाक टार्ने समस्या परेमा क्लव सहयोग गर्न तयार रहेको क्लवका अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

क्लवका गतिविधि संगै विभिन्न सामाजिक र रचनात्मक कार्यक्रममा क्रियाशिल लायन्स क्लव अफ युथले सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय बालबालिकालाई राहत वितरण, मधुमेह रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर, जनचेतामुलक ¥याली, बृक्षारोपण, जनचेतना मुलक कार्यक्रम, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, नेतृत्व विकास तालिम, निशुल्क आँखा तथा दन्त परिक्षण शिविर लगायतका कार्यक्रम गर्दै आएको छ ।