भैरहवा, ९ चैत । लुम्बिनी बौद्ध विश्वविद्यालयमा गठित नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय कमिटीले सल्लाहकार चयन गरेको छ । शनिबार बसेको संगठनको पहिलो बैठकले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।
संगठनका अध्यक्ष बलबहादुर पाण्डेको अध्यक्षतामा भएको बैठकले सल्लाहकारमा पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्ले र अध्यापक गुणाखर गैरेलाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो ।
बैठकले विश्वविद्यालयमा नवनियुक्त रजिष्ट्रार डा. तिलकराम आचार्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । त्यस्तै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सजग र सचेत रहन आग्रह समेत गरेको छ । बैठकले विश्वविद्यालयको विकासका लागि गर्नुपर्ने काम र अध्यापनरत शिक्षकहरुको समस्याहरु सुत्रबद्ध गर्नका लागि कार्यदल गठन गरेको छ ।
संगठनका उपाध्यक्ष दयाराम गौतमको संयोजकत्वमा बनेको कार्यदलमा मेघनाथ खनाल, केशवराज अर्याल, चुरामणि पोखरेल र कमल मरासिनी सदस्य रहनुभएको छ । कार्यदलले अध्यापनरत आंशिक, करार शिक्षकका समस्या समाधान र विश्वविद्यालयका शैक्षिक एवं भौतिक विकासका लागि गर्नुपर्ने कामको सूचिसहितको प्रतिवेदन बनाउनेछ । त्यो प्रतिवेदन सुझावका रुपमा विश्वविद्यालयमा पेश गरिने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
बौद्ध विश्वविद्यालयमा अध्यापनरत शिक्षकहरुको भेलाले गठन गरेको संगठन १३ सदस्यीय रहेको छ । अध्यक्षमा बलबहादुर पाण्डे, उपाध्यक्षमा दयाराम गौतम र कुमार खड्का, सचिवमा दामोदर घिमिरे, सहसचिवमा मेघनाथ खनाल र केशवराज अर्याल, कोषध्यक्षमा अन्जु खनाल रहनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा मोहनलाल भण्डारी, चुरामणि पोखरेल, राजिवजंग शाह, कमल मरासिनी, शंकर गौतम र कृष्णबहादुर कार्की रहनुभएको छ ।
