बुटवल, फागुन
नेपाल मगर संघ तिलोत्तमाले ३८ औं मगर दिवस मनाउने भएको छ । मगर संघले विभिन्न कार्यक्रमको आयोजना गरी मगर दिवस मनाउन लागेको हो ।
रुपन्देहीस्थित तिलोत्तमा मगर संघले सोमबार पत्रकार सम्मेलन गरी फागुन १५ को मगर दिवसबारे जानकारी गराएको छ । मगर समूदायको संस्कार र संस्कृति जर्गेनका लागि सबै मगरहरुलाई एकीकृत गर्नेगरी मगर दिवस मनाउन लागिएको मगर संघ तिलोत्तमाका अध्यक्ष पे्रमबहादुर थापाले जानकारी गराउनु भयो ।
३८ औं मगर दिवस सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघ रुपन्देही अध्यक्ष गिता सारु मगरले मगर समूदायलाई राज्यको मूलधारबाट पछाडी पारिएको गुनासो गर्नुभयो ।
उहांले सांस्कृतिक पर्वको रुपमा फागुन १५ लाई सार्वजनिक बिदा दिन सरकारसंग माग गर्दै प्रदेश पांचको नामाकंन मगरात प्रदेश बनाउनु पर्ने बताउनु भयो ।
मगर दिवसको कार्यक्रममा मगर समूदायको भेषभुषा झल्कने खालको झांकीसहितको र्याली निकालिने छ ।
२०३९ सालदेखि मगर समुदायले संगठित रुपमा फागुन १५ गते मगर एकता दिवसको रुपमा मनाउंदै आएका छन् । लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेर सम्मान दिन माग गर्दै आएको मगर संघ तिलोत्तमाले ३८ औं मगर दिवस मदिरारहित मनाउने बताएको छ ।
संघका अध्यक्ष पे्रम थापाको अध्यक्षता र सचिव टिकारम पुन मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।