बुटवल, १० फागुन
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको स्थापना दिवसमा अस्पतालमा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको छ । संघको ६७ औं स्थापना दिवसको अवसर पारेर संघ अन्तरगत गठित महिला उद्यमी समितिले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको हो ।
सहयोग वितरण कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा आम्दा अस्पताल सञ्चालक समितिका उपाध्यक्ष खिमबहादुर हमालले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायितव बहन गर्दै स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।
संघको स्थापना दिवसकै अवसरमा संघको सचिवालय परिसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको थियो भने शनिबार आम्दा अस्पतालमा बिरामीलाई फलफूल तथा डाईपर वितरण गरिएको हो ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा आम्दा अस्पतालका सञ्चालक जीवनप्रसाद वझाले स्थापना दिवसको अवसरमा सानो भएपनि सहयोग गरिएको बताउँदै सहयोगलाई टिका र प्रसादको रुपमा लिन आग्रह गर्नुभयो । बुटवल उद्योग बाणिज्य संघ, आम्दा नेपाल र बुटवल उपमहानगरपालिकाले त्रिपक्षीय समझदारीमा २०५५ सालमा सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना भएको स्मरण गर्दै उहाँले अस्पताल स्थापनाकालदेखि नै अस्पतालको बिकासमा उद्योग बाणिज्य संघले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो ।
त्यस्तैगरी आम्दा अस्पतालका निमित्त निर्देशक केशवराज शर्माले अस्पतालका बिरामीलाई सहयोग प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको याचना गर्नुभयो । उहाँले अस्पतालको स्थापना कालदेखि नै बुटवल उद्योग बाणिज्य संघको ठूलो सहयोग रहेको औंल्याउँदै आगामी दिनमा संघ तथा उद्योगी व्यबसायीहरुलाई अस्पतालको बिकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।
उक्त कार्यक्रमका लागि संघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाल, जगानाथ न्यौपानेले डाईपर सहयोग गर्नुभएको थियो भने बस्तुगत समितिका उपाध्यक्ष बिनोद निरौलाले टिस्युपेपर प्रदान गर्नुभएकोको समितिकी अध्यक्ष नमकला वेलवासेले जानकारी गराउनु भयो ।
अस्पतालमा सहयोग वितरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य तथा स्थापना दिवस बिशेष कार्यक्रमका संयोजक प्रकाशकुमार श्रेष्ठ, कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाल, बिभिन्न बस्तुगत समितिका सभापतिहरु, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
संघको स्थापना दिवसको अवसरमा शनिवार साँझ संघको सचिवालयमा दीपावली र आईतबार संघको सभाहलमा व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको छ ।