बुटवल, ९ फागुन । बुटवलमा सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक रानाले जितेका छन् । मेन्स सिंगलको शुक्रबार भएको फाईनलमा प्रणव खनाललाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि हात पारेका हुन् । उपाधिसंगै राना नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । उपविजेता खनालले नगद २५ हजार, कप र मेडलमा चित्त बुझाए ।
वोमेन्स सिंगलतर्फको उपाधि शसस्त्र प्रहरी बल एपिएफका सलोनी तामाङले हात पारेकी छिन् । सलोनीले विहिबार भएको फाईनल खेलमा काठमाण्डौकी प्रकृति श्रेष्ठलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन् । उपाधिसंगै सलोनी नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भइन् । उपविजेता श्रेष्ठले नगद २५ हजार, कप र मेडल प्राप्त गरेकि छिन् ।
प्रतियोगितामा भगवती बि क र ईन्द्रकला श्रेष्ठ तेस्रो भएका छन् । यसैगरि ३५ बर्ष माथिको उपाधि कमल भण्डारीले जितेका छन् । भण्डारीले फाईनलमा राजु श्रेष्ठलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएका हुन् । ४५ बर्ष उमेर समूह माथिको खेलको उपाधि चन्द्र शाहीले जितेका छन् । चन्द्रले बिमल गुरुङलाई ६–४, ६–४ को सोझो सेटमा पाखा लगाउदै उपाधि चुमेका हुन् ।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, नेपाल लन टेनिस संघका केन्द्रिय अध्यक्ष ज्योती राणा, संघका अध्यक्ष सन्जय श्रेष्ठ, सचिव गोपाल ज्ञवालीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा विभागिय टिमसहित काठमाण्डौ, पोखरा, विराटनगर र बुटवलका १ सय बढी राष्ट्रिय र स्थानिय खेलाडीहरुले विभिन्न विधामा उपाधिका लागि प्रतिस्प्रधा गरेका थिए ।
त्यसैगरि पुरुष एकल ३५ वर्ष माथिको प्रथमलाई ३० हजार, ४५ वर्ष माथिको प्रथमलाई २५ हजार र ५५ वर्ष माथिको प्रथमलाई १५ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै पुरुष डवल तर्फको उपाधि विजेता, ३५ वर्ष र ४५ वर्ष माथि उमेर समूुहको उपाधि विजेतालाई समान नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैयाँ लाग्ने अनुमान आयोजकको छ ।
