बुटवल, २४ माघ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणका नाईकेलाई उन्मुक्ति दिने र विपक्षी दलका नेताहरुलाई हतोत्साहित गराउने गरि सरकारले षड्यन्त्र गरेको भन्दै त्यसको बिरोधमा नेपाल बिद्यार्थी संघले रुपन्देहीमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
सरकारको षड्यन्त्रमा फसेर अख्तियारले नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गछ्छदार विरुद्ध मुद्धा चलाएको बिरोधमा नेपाल बिदार्थी संघले शुक्रबार साँझ बुटवलमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
मसाल जुलुस प्रदर्शनमा नेबिसंघका नेता कार्यकर्ताले कम्युनिष्ट सरकार मुर्दावाद, ललिता निवास जग्गा प्रकरणका नाईकेलाई मुद्धा चला, नेबिसंघ जिन्दावाद लगायतका नारा लगाएका थिए ।
बुटवलको अस्ताललाईनदेखि निस्किएको मसाल जुलुस ट्राफिकचोक पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले वर्तमान सरकारले ललिता निवास काण्डका नाईकेलाई उन्मुक्ति दिने र बिपक्षि दलका नेताहरुलाई हतोत्साहित गराउने गरी अख्तियारलाई समेत षड्यन्त्रमा फसाएको आरोप लगाउनु भयो ।
उहाँले ललिता निवास जग्गा काण्डका नाईके तत्कालिन प्रधानमन्त्री र सेटिङ् मिलाउने नेता नेकपा महासचिव बिष्णु पौडेललाई उन्मुक्ति दिनेगरी अख्तियारले मुद्धा अंगाडी सारेको भन्दै त्यसप्रति खेद व्यक्त गर्नुभयो । सत्तासिन दलका नेताहरुलाई उन्मुक्ति दिने र बिपक्षी दलका नेताहरुलाई हतोत्साहित गराउने गरी पार्टीका उपसभापति गछ्छदारलाई अनाहकमा फसाउने प्रपन्च गरेको उहाँको आरोप छ ।
नेपाल बिद्यार्थी संघका नेता छायाँ पोखरेलले ललिता निवास जग्गा काण्डमा यसै क्षेत्रका नेकपाका नेता तथा महासचिव बिष्णु पौडेल नाईके रहेको समाचारहरुले पुष्टि गरेकाले त्यसको मुद्धा पौडेलमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहांले सरकारको यस्तै रवैया रहिरहे नबिसंघ चुप लागेर नबस्ने बताउनु भयो । कोण सभा नेपाल बिद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस बुटवलका सभापति सुरज क्षेत्रीको सञ्चालनमा भएको थियो ।
मसाल जुलुस प्रदर्शनमा बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस लगायतका क्याम्पसबाट नेबिसंघका नेता कार्यकर्ता तथा तरुण दलका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको नेबिसंघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका सभापति महेश शर्माले जानकारी दिनुभयो ।