रामकुमार श्रेष्ठ
नवलपुर, २४ माघ । जिल्ला अदालत नवलपुरमा सम्वन्ध विच्छेद र अँश वण्डाका मुद्दा सबैभन्दा धेरै दर्ता भएका छन् । जिल्ला अदालत नवलपुरले शुक्रबार नवलपुरका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेर यस्तो जानकारी गराएको हो ।
कार्यक्रममा जिल्ला अदालत नवलपुरका जिल्ला न्यायाीश अर्जुन अधिकारीले नवलपुरमा जिल्ला अदालत स्थापना भएदेखि हालसम्म जिल्ला अदालतमा परेका मुद्दाका प्रकृति, अदालतले फैसला गरेका मुद्दा लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्ला अदालत नवलपुरमा गत आर्थिक बर्षमा चार सय ९४ वटा मुद्दा दर्ता भएकोमा २ सय ४ वटा मुद्दा सम्बन्ध विच्छेदको रहेको जानकारी गराइएको थियो ।
त्यसैगरी सम्बन्ध विच्छेद पछि सबैभन्दा बढी अंशबन्डा १ सय ३० र लागुऔषध मुद्दा ५५ दर्ता भएका छन् । त्यसैगरी जिल्ला अदालत नवलपुरमा जबरजस्ती करणीसम्बन्धी १२ वटा मुद्दा दर्ता भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला अदालतले कस्ता कस्ता सेवाहरु निशुल्क प्रदान गर्छ, कुन कुन मुद्दा कति दिनमा फैसला गर्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।
जिल्ला न्यायाधीश अर्जुन अधिकारीका अनुसार जिल्ला अदालत नवलपुरले कुनै पनि मुद्दा दर्ता भएको बढीमा डेढ बर्ष भित्र फछ्र्यौैट गरिसक्ने गरी लक्ष लिएर काम गरेको समेत जानकारी दिनुभयो । जिल्ला अदालत नवलपुर गत आर्थिक बर्षमा गण्डकी प्रदेशमै सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने र सबैभन्दा बढी मुद्दा मेलमिलाप गराउन सफल जिल्ला अदालतमा परेको थियो ।