भैरहवा, ४ माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तब्य ज्यान मुद्धामा फरार अभियुक्तलाई १३ बर्ष पछि पक्राउ गरेको छ । जिल्ला रूपन्देही साबिक बगौली गा.बि.स.–१ हाल मर्चवारी गाउँपालिका–६, ठर्की बस्ने बर्ष ३७ को रामभवन बेलदारलाई प्रहरीले यही माघ २ गते नेपाल भारत सिमा दुई मुहानघाटबाट पक्राउ गरेको हो ।
घटना विवरण अनुसार २०६४ साल माघ ८ गते दिनको ११ बजेको समयमा साविक बगौली गा.बि.स.–१ हाल मर्चवारी गाउँपालिका वार्ड नं.६ ठर्की बस्ने बर्ष–५५ को रामपत बेलदार र निजको छोरा बर्ष २५ को रामभवन बेलदार समेत २ जनाले आफ्नै (बोल्न नसक्ने) छोरी बर्ष १० की रेखा बेलदारलाई कोदालो (फोरुवा) ले टाउकोमा हानी कर्तब्य गरी मारेको भनि प्रहरीमा किटानी जाहेरी परेको थियो ।
सोही स्थान बस्ने तेजप्रसाद सिंहको किटानी जाहेरी अनुसार मृतक रेखा बेलदारको शव खोज्ने क्रममा नेपाल भारत सिमानामा रहेको डण्डा नदी किनारामा खाल्डो खनी पुरेको अवस्थामा २०६४ साल माघ १३ गते प्रहरीले फेला पारी मुचुल्का गरी अनुसन्धान सुरु गरेको र रामपत र रामभवन फरार रहेकोले खोज तलास गर्दै आई रहेको थियो ।
सो घटना पछि फरार रहेका अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको प्रहरी हवल्दार कृष्णसिंह वली समेतको टोलीले गोप्य सूचनाको आधारमा यही माघ २ गते सांझ ४ बजे मर्चवारी गाउँपालिका –६ नेपाल भारत सिमाना स्थित दुई मुहानघाटबाट रामभवनलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका अभियुक्त रामभवनलाई माघ ३ गते रूपन्देही जिल्ला अदालतबाट पहिलो पटक ६ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीले जानकारी दिनुभयो ।