बुटवल, १९ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा बुटवल उपमहानगरपालिकाभित्रका विद्यालयबाट जिपिए ४ प्राप्त गर्ने आठ जना विद्यार्थीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले बुधबार सम्मान गरेको छ ।
एसइयको नतीजामा जिपिए ४ हासिल गरेका न्यू होराईजन माविका सातजना र कालिका मानवज्ञान माविका एकजना गरी आठजना विद्यार्थीलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा न्यू होराईजन माविबाट ४ जिपिए प्राप्त गर्ने प्रवेश आचार्य, सोदिक्षा कुँवर, अनुष्का श्रेष्ठ, अपिल चौधरी, क्षितिज डुम्रे, रोशना टण्डन, सुयल ज्ञवाली र कालिका मानवज्ञान माविबाट सविना सुवेदी रहेका छन् ।
उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र नेकपा बुटवल उपमहानगर कमिटी बाबुराम पन्थीले दोसल्ला ओढाई प्रशंसापत्रबाट सम्मान गरेका हुन् । त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीले एसइयमा जस्तै आगामी शैक्षिक यात्रामा पनि सफलताको शुभकामना दिए ।
आफ्नो रुची र क्षमता अनुसारको विषय छानेर देशले चाहेको शैक्षिक उपलव्धि शासिल गर्ने दिशातर्फ अघि बढ्न आग्रह गर्दै उनले मुलकका लागि वैज्ञानिक जनशक्तिको खाँचो रहेकाले यसतर्फ अघि बढ्न पनि आग्रह गरे ।
न्यू होराईजनका प्राचार्य लोकनाथ उपाध्यायले राज्यको विभेदका बाबजुद पनि संस्थागत विद्यालयहरुले एसइइमा राम्रो नतीजा हासिल गरेको भन्दै निजी विद्यालयको योगदानलाई नबिर्सन आग्रह गरे । सरकारी ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको कमजोर नतीजाबाट पाठ सिक्दै संस्थागत विद्यालयलाई पनि संरक्षण गर्ने दिशामा अघि बढ्न उनले आग्रह गरे ।
कलिका मानवज्ञान माविका प्राचार्य घनश्याम पाठकले आफ्नो विद्यालयले हासिल गरेको सफलता देशकै उत्कृष्ट रहेको दावी गर्दै विद्यार्थीहरुलाई आगामी शैक्षिक भविष्य बुटवलबाटै निर्माण गर्न सुझाव दिए । बुटवलले शिक्षाको विकासमा फड्को मार्दै गएको र यो अवसरलाई एसइइ उत्तीर्ण विद्यार्थीहरुले सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, बुटवल उपमहानगरकमिटी अध्यक्ष बाबुराम पन्थी, सचिव बालकृष्ण पाण्डे लगायतले शैक्षिक उपलव्धि हासिल गर्ने दिशामा अघि बढ्दा सभ्यता र संस्कृतिलाई पनि सँगसँगै अंगाल्न आग्रह गरे । त्यस अवसरमा सम्मानित विद्यार्थीद्वय प्रवेश आचार्य र सविना सुवेदीले आगामी शैक्षिक भविष्यका लागि अहिलेको उपलव्धिलाई गुम्न नदिने भन्दै अग्रजहरुको प्रेरणाबाट अघि बढ्ने अठोट व्यक्त गरेका थिए ।
त्यस अवसरमा नेकपा बुटवल उपमहानगर कमिटीले बुटवलको प्रगति माविमा अध्ययन गर्ने ११ जना विपन्न बालबालिकाको अध्ययनको जिम्मा लिंदै शैक्षिक सामग्री र नगद रकम हस्तान्तरण गरेको थियो ।
यसरी सहयोग पाउनेमा अन्जली भण्डारी, वेदप्रकाश कहांर, उज्ज्वल थापा, रितिका थापा, भरत चौधरी, रोहन तामाङ, सुकबहादुर थापा, रमा थापा, सपना चिदि, पुजन बि.क. र सविना लामा छन् ।