श्यामलाल पोखरेल
बुटवल, २० मंसिर । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको साहित्य पुस्तक प्रदर्शनी मंसिर २२ गतेसम्म चल्ने छ ।
पुस्कत प्रदर्शनी उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश पांंचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रगतिबादी साहित्यले राजनीतिक परिवर्तनमा सहयोग गरेको बताउनुभयो । उहांले प्रदेश पांचको भूगोलले बहुभाषिक र बहुसांस्कृतिको प्रतिनिधित्व गरेको बताउनुभयो ।
प्रदेश पांचमा रहेको विविधताको साहित्य, कला र संस्कृतिलाई पूंजीको रुपमा संरक्षण गर्नुपर्ने बताउदै उहांले मुृलुकको समृद्विका लागि प्रगतिबादी साहित्यकारहरुसंग सहकार्य गर्न सकिने मन्त्री बरालले बताउनु भयो ।
प्रगतिशील लेखक संघ, नेपालका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर जीवेन्द्रदेव गिरीले राजनीतिक परिवर्तनसंगै समाजलाई सांस्कृतिक रुपमा रुपान्त्रण गर्नुपर्ने बताउनुभयो । परिवर्तनको क्षेत्रमा प्रगतिशील लेखक संघको भूमिका महत्वपूर्ण रहदै आएको उल्लेख गर्दै साहित्यको भूमिकालाई अभियानको रुपमा अगाडी बढाउनुपर्नेमा उहांले जोड दिनुभयो ।
पुस्तक प्रदर्शनीको पहिलो दिन संस्कृति र साहित्यवीचको अन्तरसम्बन्ध विषयमा घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य डाक्टर राजेन्द्र खनाल, पठन संस्कृतिको विषयमा वरिष्ठ आख्यान्कार जंगबहादुर शाहाले चर्चा गर्नुभएको थियो ।
पुस्तक प्रदर्शनीको पहिलो दिन करिव ३ हजार जनाले अवलोकन गरेको र ९० हजारको पुस्तकहरु विक्री भएको आयोजक संस्थाका सचिव श्यामलाल पोखरेलले जानकारी गराउनुभयो ।
साहित्य कार्यक्रम अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता र सरिता श्रीसको सञ्चालनमा भएको थियो । साहित्यकार बुंद राना, रामचन्द्र भट्टराई, मिनबहादुर राना लगायतका स्रष्टाहरुले गजल र कविता वाचन गर्नुभएको थियो ।
पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु राखिएको छैन । पठन संस्कृति हराउंदै र कमजोर हुंदै गएकाले नयां पुस्तामा पठन संस्कृतिको विकास गराउने उद्वेश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको हो ।
पुस्तक प्रदर्शनीमा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको छ । यस क्षेत्रको साहित्य, कला, संस्कृति र संङ्गीतको वर्तमान र भविश्यबारे छलफल गरिने छ । साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाखको पुस्तकहरु विक्री हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।