नवलपरासी, २० मंसिर । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५।०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।
त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । प्रहरीको तथ्यांक अनुसार १४ जना महिलामाथि अभद्र व्यवहार भएको छ ।
त्यस्तै यस आर्थिक बर्षको साउनदेखि कात्तिक महिनासम्म ४ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय नवलपुरमा ५ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् भने बालयौन दुव्र्यवहारका एउटा र महिलामाथि हुने अभद्र व्यवहारका घटनालाई लिएर १२ वटा घटनाका उजुरी आएको जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला सेलको तथ्यांकमा देखिएको छ ।
त्यसैगरी जिल्ला अदालत नवलपुरको पछिल्लो ९ महिनाको तथ्यांक हेर्ने हो भने पनि जबरजस्ती करणीका घटनाको रुप विकराल देखिन्छ । जिल्ला अदालत नवलपुरमा गत २०७५ माघ १७ गतेदेखि २०७६ मंसिर १२ गतेसम्म १४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका जिल्ला अदालत नवलपुरका सूचना अधिकारी दुर्गाबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै पश्चिम नवलपरासीमा गत एक बर्षमा २७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५।०७६ मा २७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।
त्यसैगरी ७ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने ४ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । त्यसैगरी ११ महिला मानव वेचविखनका सिकार भएका छन् ।