स्वयम सेविकालाई गाउँपालिकाले मासिक पाँच सय यातायात खर्च दिने
धकधई, १९ मंसिर । महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै रोहिणी गाउँपालिकाले १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ ।
सो अवसरमा गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भूमिका खेलेका स्वयम सेविकाहरुलाई रोहिणी गाउँपालिका कार्यालयले उनीहरुको योगदानको सम्मान र कदर गर्दै सम्मान गरेको छ । दिवसकै अवसरमा बिभिन्न स्थानबाट रोहिणी गाउँपालिकामा समायोजन हुन आएका स्वास्थ्य कर्मिलाई स्वागत तथा रोहिणीबाट अन्यत्र जानेलाई बिदाई समेत गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थ भावले काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्नुभयो । अध्यक्ष यादवले बिना कुनै शुल्क र निस्वार्थ भावले स्थानीयहरुको सेवामा खटिएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सेवामा हौसला प्रदान गर्न गाउँपालिकाले प्रत्येक महिना यातायात खर्च बापत ५ सय रुपैयाँ उपलब्ध गराउने जानकारी गराउनु भयो ।
रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपने, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री लगायतले महिला स्वास्थ्य स्वयम सेविकाहरुले गाउँ समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनीहरुको सेवा सुविधामा सवैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
