प्रबेश टिकटको डेढ रुपैयाँ सामाजिक क्षेत्रलाई
बुटवल, १८ मंसिर । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा प्रत्येक प्रबेश टिकटबाट १ रुपैयाँ ५० पैसा संकलन गरी सामाजिक क्षेत्रमा लगानी गर्ने भएको छ ।
मेलामा आउने दर्शकहरुले मेला प्रबेशकालागि लिने प्रत्येक टिकटबाट शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवद्र्धन र खेलकुदको बिकासकालागि १ रुपैयाँ छ० पैसा छुट्याईएको बुटवल उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जल कसजुले जानकारी दिनुभयो ।
आगामी पुस ९ गतेदेखि सञ्चालन हुने १५ दिने मेलामा आउने सर्वसाधारण दर्शकका लागि ६० रुपैयाँ टिकट निर्धारण गरिएको छ । त्यस्तै परिचय पत्रका आधारमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यबस्था मिलाईएको प्रचारप्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी दिनुभयो । संयोजक अधिकारीका अनुसार पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा ५ सय स्टल राखिने र ८ देखि १० लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।
स्टल व्यबस्थापन उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य अनुपमान सैंजुका अनुसार मेला स्थल नयाँ ठाउँमा भएपनि मेलाकालागि ५० प्रतिशत स्टल बुकिङ् भईसकेको र अन्य स्टलका लागि सम्पर्क र ब्यवस्थापनको काम भैरहेको छ ।
मेला स्थल विगतका ठाउं भन्दा फरक र नयाँ भएकाले ठाउँको प्रचारप्रसार संगै मेला सचिवालयलाई आकर्षक र ब्यवस्थित वनाउन संघको सचिवालय आकुतिको मेला सचिवालय र आधुनिक मोडलको स्टेज निर्माणको कामलाई संघले अगाडी बढाएको छ ।
त्यस्तै पर्यटन प्रवद्र्धनकालागि यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय क्षेत्र ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा प्रवेशद्वार निर्माण गरिने स्टल पूर्वाधार निर्माण उपसमितिका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा गार्मेन्ट ७६, होटल तथा रेष्टुरेन्ट २५, मदिराजन्य ५, पपकर्न, पिनट्स, आइर्सक्रिमका ५, अटोमोवाईल १८, ई–रिक्सा तथा ई–साईकल सोरुमका ५, ईलोक्ट्रोनिक्स तथा आईटीका ४०, फर्म तथा कर्पोरेट हाउसका २०, जुत्ता चप्पल ३८, स्टेशनरी तथा खेलकुदका ९, बैंक तथा बित्तिय संस्था ५, फर्निसिङ, किचन तथा प्लाष्टिकका ३६, शैक्षिक संस्था २, एनजिओ आईएनजिओ ३, साना हस्तकलाका १०, नीजि स्वास्थ्य संस्था २, घरजग्गा कारोवार कम्पनीका १, मेडिकल कलेजको १, कस्मेटिक लगायतका २०, पस्मिना तथा ढाका ५ लगायतका ५०० सय स्टल राखिने छ ।
संघले विषयगत परामर्श दाताहरुको सुझाव र परामर्स अनुसार तयारीका कामहरु अंगाडी बढाईरहेको छ ।