मूल्य बृद्धि र नेपाली भूमि भारतले मिचेकोमा विरोध
बुटवल, १८ मंसिर । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ताको माग र भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको विरोधमा नेपाल विद्यार्थी संघ रुपन्देहीले आज बुटवलमा चक्काजाम गर्यो ।
छिमेकी मुलुक भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो देशमा पारेकोले फिर्ताका लागि जनदबाब दिन र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघले बुटवलले मिलनचोकमा चक्काजाम गरेको हो ।
भारत सरकारको हेपाहा र मिचाह प्रबृति विरुद्ध र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि विरुद्ध नेबिसंघले विरोध प्रदर्शन सहित सांकेतिक रुपमा चक्काजाम गरेको हो ।
रुपन्देहीका बिभिन्न क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरु सरकार विरुद्धको प्रदर्शनमा सहभागि हुदै बुटवल मिलनचोकमा आएर विहान ९ देखि १० बजेसम्म चक्काजाम गरेका थिए ।
विरोध प्रदर्शन र चक्काजाम पछि आयोजित कोणसभामा बोल्दै नेपाल बिद्यार्थी संघ रुपन्देहीका नेता छायाँ पोखे्रलले नेपाली जनतालाई राहत र सुविधा दिने उद्घोष गरेको सरकारले हरेक क्षेत्रमा मूल्य बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकाले आन्दोलनमा उत्रिनु परेको बताउनु भयो ।
नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका ईकाई सभापति महेश पौडेलले जनताका हित बिपरित सरकार चलेको र जनताको ढाड सेक्नेगरी अत्यावश्यक वस्तुमा मूल्य बृद्धि गरेकाले विद्यार्थीहरु सडकमा उत्रिन बाध्य भएको बताउनु भयो ।
विद्यार्थी नेता पौडेलले सरकारले गरेको मुल्य बृद्धि फिर्ता र भारतले नेपाली भूमि मिचेर वनाएको नक्सा नसच्याउदासम्म आन्दोलनका कार्यक्रम जारी रहने बताउनु भयो ।
कोण सभामा विद्यार्थी नेताहरु सन्तोष डिसी, लुम्बिनी बाणिज्य क्याम्पस इकाइ सभापति सुरज क्षेत्री लगायतले सरकारको रबैयाको विरोध गर्दै ईन्धनमा गरिएको मूल्य बृद्धि फिर्ता लिन माग गर्नुभयो ।
नेपाल विद्यार्थी संघले आयोजना गरेको विरोध प्रदर्शन र चक्काजामका कारण एक घण्टा यातायात सेवा प्रभावित हुनुका साथै कामका सिलसिला र पठनपाठनका लागि हिडेका बिद्यार्थी तथा सर्बसाधारण समस्यामा परेका थिए ।