बुटवल १४ मंसिर
प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा समस्याहरु देखिएको बताउनु भएको छ् । उहाँले सहकारी क्षेत्रमा देखिने समस्याले मुलुकलाई अगाडि बढाउन समेत नसकिएको बताउनु भयो ।
तिलोत्तमा नगरमा सञ्चालित मणिप्रभा बचत तथा ऋण सहकारीकोशनिवार १० औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले आर्थिक गतिविधिमा सहकारीबाट महत्वपूर्ण योगदान हुंदै आएको बताउनु भयो ।
उहाँले प्रदेश सरकार सहकारीलाई अगाडि बढाउने गरी नयाँ कानुन बनाउने तयारीमा रहेको जानकारी दिदै आर्थिक रुपले मुलुकलाई अगाडि बढाउने गरी सहकारी क्षेत्रको नयाँ कानुन ल्याउन आवश्यक रहेको मन्त्री गिरीको भनाइ रहेको छ ।
उहाँले आर्थिक उपार्जनका लागि सहकारी प्रमुख रहेको उल्लेख गर्दै भने–“अब सहकारी एकीकरणलाई अगाडी बढाउनु पर्छ ।” उद्योग धन्दा र कलकारखाना खोल्नका लागि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले ठूलो लगानी गर्ने गरी अब सहकारीहरु एककीकरण हुनुपर्नेमा जोड दिनु भयो ।
सहकारीका अध्यक्ष दिनेश फुल्लेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताउनु भयो ।
कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका आर्थिक विकास शाखा प्रमुख माधव पोखरेलले नगरपालिकाले यस क्षेत्रको विकासमा सहकारीलाई पनि आधारस्तम्भ मानेको बताउनु भयो ।
त्यस अवसरमा संस्थाका सल्लाहकार लोकेन्द्र न्यौपाने, जागृती सहकारी संस्थाका अध्यक्ष गणेश भट्टराई, लायन्स क्लव अफ चौतारीका उपाध्यक्ष एकदेव बस्याल, संस्थाका सचिव खगेश्वर भण्डारीलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।साधारण सभाले वर्तमान उपाध्यक्ष मान बहादुर केसी सुमनलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । वर्तमान अध्यक्ष फुल्लेलको कार्य व्यवस्थताका कारण जिम्मेवारी उपाध्यक्षलाई दिने प्रस्ताव गर्नु भएको थियो ।