ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह
बुटवल, १४ मंसिर । आज विभिन्न तहको रिक्त पदका लागि उपनिर्वाचन हुंदैछ । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी ५२ रिक्त पदको उपनिर्वाचनका लागि शनिवार विहान ७ वजे देखि मतदान शुरु भएको छ ।
कास्की २ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ ३ को (ख) मा प्रदेशसभा सदस्य तथा स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ४३ वडाध्यक्ष चयनका लागि मतदान शुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदातालाई मतदान गर्न पाउने अधिकार छ भने मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।
मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएकोले कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन आयोगले सम्पूर्ण मतदातालाई आह्वान गरेको छ । आयोगका अनुसार उपनिर्वाचनमा १६ वटा नयाँ दल सहित १ सय १ दलले भाग लिएकामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् ।
उपनिर्वाचन हुने क्षेत्रहरु मध्ये कास्की निर्वाचन क्षेत्र नम्वर –२ मा सबैको ध्यान केन्द्रित भएको छ । तत्कालीन पर्यटनमन्त्री तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । यहाँ सत्तारुढ दलबाट अधिकारीकी पत्नी विद्या भट्टराईको उम्मेदवारी परेको छ भने काँंग्रेसबाट खेमराज पौडेले उम्मेदवारी दिनुभएको छ ।
भक्तपुरमा प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि भक्तपुर प्रदेश –१ (क)मा पनि निर्वाचन हुँदैछ । यहाँ नेकपाबाट देवीप्रसाद ढकालले उम्मेदवारी दिनुभएको छ भने काँंग्रेसबाट कृष्ण भडेलको उम्मेदवारी परेको छ ।
यस्तै दुई पदका लागि उपनिर्वाचन हुने दाङमा प्रदेशसभातर्फ क्षेत्र –३ (ख) र घोरही उपमहानगरपालिका –१६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । प्रदेसभा सदस्य उत्तरकुमार ओली र वडाअध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । प्रदेशसभामा नेकपाबाट ओलीकै श्रीमती विमला ओलीले उम्मेदवार हुनुहुन्छ भने काँंग्रेसबाट केशव आचार्य उम्मेदवार बन्नुभएको छ ।
बागलुङको निर्वाचन क्षेत्र २ (ख) मा सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । यहां नेकपाको समर्थनमा जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार बन्नुभएको छ भने काँग्रेसले अघिल्लो निर्वाचनका उम्मेदवार जितबहादुर शेरचनलाई यस पटक पनि उम्मेदवार बनाएको छ ।
स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि पनि आजै शनिबार उपनिर्वाचन हुँदैछ । जसमा ५ नम्वर प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका –५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका –६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका –२, रोल्पाको थवाङ गाउँपालिका –१, दाङको घोराही उपमहानगरपालिका –१६ र बाँकेको कोहलपुर नगरपालिका– ६ मा उपनिर्वाचन हुँदैछ ।