नेपाली सीमा मिचिएको विरोधमा विद्यार्थीहरुको प्रदर्शन
श्यामलाल पोखरेल
बुटवल, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द नेतृत्व) निकट विद्यार्थी संगठनले आइतबार रुपन्देहीको बुटवलमा निकालेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
भारतले नेपाली सीमा मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा विद्यार्थीले बुटवलमा बिरोध जुलुस निकालेका हुन् ।
बिरोध जुलुसबाट प्रहरीले विनोद विश्वकर्मा र शिशिर नेपालीलाई गिरफ्तार गरेको थियो । जुलुसमा सहभागी विद्यार्थीहरुको साथबाट अनेरास्ववियु (क्रान्तिकारी ) लेखेको पर्चा भेटाएकाले गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय रामनगर बुटवलले जानकारी गराएको छ । गिरफ्तार विद्यार्थीलाई केही घण्टा प्रहरी कार्यालयमा राखेर छोडिएको प्रहरीले जनाएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतीय सेना नेपाल भूमि छोड लगायतका नारा लगाउंदै विद्यार्थीले बिरोध जुलुस निकालेका थिए । अनेरास्ववियु ( क्रान्तिकारी ) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बिरोध जुलुस निकालिएको हो ।
बुटवलको योगीकुटी, कालिकानगर, देवीनगर, मिलनचोक, नयाँवसपार्क र गोलपार्कबाट एकैसाथ विद्यार्थीले बिरोध जुलुस निकालेका थिए । बिरोध जुलुसमा बुटवलका विभिन्न शैक्षिक संस्था तथा कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।
अनेरास्ववियु ( क्रान्तिकारी ) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बिरोध जुलुस निकालिए पनि अन्य विद्यार्थी संगठनमा आवद्व र सर्वसाधारण नागरिकहरु समेत भारतले नेपालको भूमि मिचिएको बिरोधमा निकालिएको जुलुसमा सहभागि भएका थिए ।
बिद्यार्थीको जुलुसलाई नियन्त्रण गर्न प्रहरीले कालिकानगर, चौराहा, मिलनचोक र गोलपार्कमा प्रयास गरेपनि नियन्त्रण गर्न सकेको थिएन । जुलुस शुरु हुनु अघिनै सम्बन्धित ठाउमा पुगेर प्रहरीले बिथोल्न खोजेपनि प्रहरीको केही लागेन । स्कूल, कलेजको डे«ससहित हातमा कापी र किताव छोपेका विद्यार्थीले प्रहरी प्रशासनलाई चुनौति दिंदै भारत बिरुद्व चर्का नारा लगाएका थिए ।
बुटवलको मिलनचोक, चौराहा र कालिकानगरबाट प्रहरीलाई छलेर आन्दोलनकारी विद्यार्थीले जुलुस अगाडी बढाएका थिए । प्रहरीले जुलुसलाई रोक्न खोज्दा विद्यार्थीहरुले प्रहरीलाई तपाइहरु भारतीय होकी नेपाली भन्दै प्रश्न गरेपछि प्रहरीहरु मुकदर्शक भएका थिए । भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि सहयोग गर्नुस भन्दै केही विद्यार्थीले जुलुसमा हस्तक्षेप गर्न आएका प्रहरीहरुलाई आग्रह समेत गरेका थिए ।
भारतीय साम्राज्यबादी नीति अनुसार नेपाली भूमि अतिक्रमण भएकाले अतिक्रमित भूमि फिर्ताका लागि आन्दोलनलाई जारी राखिने विद्यार्थीले बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी ) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक तथा केन्द्रिय सचिवालय सदस्य बिरेन्द्र बिकले नेपाली भूमि फिर्ताका लागि आन्दोलन जारी राख्ने बताउनुभयो । उहांले ओली नेतृत्वको सरकार भारत बिरुद्व बोल्न डराएको बताउंदै सरकारले सामान्य विज्ञप्ती निकालेर जनताका अगाडी तर्किने काम गरेको टिप्पणी गर्नुभयो । विद्यार्थीहरुले बुटवलको पुष्पलालपार्क र मिलनचोकमा कोणसभा समेत गरेका थिए । नेपाली भूमि मिचेर भारतले बनाएको नक्कली नक्सा नसच्चाउंदासम्म आन्दोलन निरन्तर अगाडी बढाइने विद्यार्थी नेताहरुले बताएका थिए ।
प्रहरी प्रशासनले जुलुसको नेतृत्व गर्ने नेताको खोजी गरेपनि जुलुसमै भएको नेतृत्वलाई चिन्न नसकेको एक विद्यार्थीले बताए ।
