रुपन्देहीको सोना ईटासहित ५ वटा ईटा उद्योगले पाए चेक
कपिलबस्तु, ७ मंसिर । ईटा उद्योगमा वेटर व्रिक नेपाल परियोजना संचालन गरेर बालमैत्रि तथा वालश्रम मुक्त गर्न सफल उद्योगहरुलाई प्राविधिक सुधारका लागि चेक हस्तारन्तरण गरिएको छ ।
घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले कपिलवस्तुमा एक कार्यक्रमको आयोजना गरी त्यस्ता ईटा उद्योगको प्राविधिक पक्ष सुधारका लागि रु ५० हजारको चेक हस्तान्तरण गरिएको हो ।
सो अवसरमा रुपन्देहीको सैनामैना स्थित सोना इट्टा उद्योगका संचालक विक्रम बज्राचार्य, कपिलबस्तुको एन.एस.एस ईट्टा उद्योगका संचालक दुनिका भुषाल, वौद्ध ईट्टा उद्योगका संचालक किरण खड्का, समृद्ध ईट्टा उद्योगका संचालक डमर शर्मा र लक्की ईट्टा उद्योगका संचालक सुनिल श्रेष्ठलाई उद्योगको प्राविधिक सुधारका लागि रु ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
यी उद्योगहरुले आफ्ना उद्योगमा बाल श्रम मान्य छैन, बाध्यकारी वा इच्छा विपरित श्रम मान्य नहुने, पारिश्रमिक तथा कार्य घण्टाको उचित व्यवस्थापन, कार्यस्थल सुरक्षा तथा स्वास्थ्यको उचित व्यवस्थापन सहितका ५ वटा सर्तमा काम गर्दै आएका छन् ।

सो कार्यक्रममा बोल्दै गैर सरकारी संस्था नेपालका अध्यक्ष प्रविक कुमार श्रीवास्तवले बालबालिकाको अधिकार सुनिश्ति भएमा मात्र समृद्ध नेपाल सुखि नेपालीको नारा सार्थक हुने बताउनु भयो । सरकारले कुनै अधिकार ल्याउंदैमा त्यो अधिकार पुरा नहुने भन्दै उहांले अधिकारका नारालाई व्यवहारमा कार्यान्वयन गरेर देखाउन सक्नुपर्ने बताउनु भयो ।
शनिबार कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बोर्डगाउँको जलेश्वर मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष गुणानिधि भुषालले अधिकारका कुरा गर्दा अझैै पनि कतिपय बालबालिका आफ्नो अधिकार बाट बञ्चित भएको बताउदै बाल मैत्री र बालश्रम मुक्त इटा उद्योगका संचालकहरुलाई बधाई सहित धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका अधिकृत राजन पोख्रेल, वडा नम्बर ९ का वडा अध्यक्ष ध्रुव बेल्लवासे, ईट्टा व्यवसायी संघका महासचिव रुक वहादुर भुषाल, समृद्धि ईट्टा उद्योगकका संचालक डमर शर्मा, कालिका स्वालम्वन सामाजिक संस्थाका रामेन्द्र रावल लगायतले बालबालिकाको क्षेत्रमा तीन वटै तहका सरकार सम्वेदनशिल हुनुपर्ने बताउनु भयो ।
घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका प्रतिनिधी कमल चौधरीले संस्थाले सन् २०१४ देखि २०१९ सम्म संचालन गरेका कार्यक्रमको उपलब्धिहरुको बारेमा जानकारी गराउदै बेटर व्रिक नेपाल परियोजना मार्फत संस्थाले गरेको गतिविधीका बारेमा प्रकाश पार्नुभएको थियो ।
घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका अध्यक्ष थनकला पौडेलको अध्यक्षता, सचिव विष्णु प्रसाद न्यौपानेको स्वागत तथा संञ्जु केसीको संचालनमा कार्यक्रम भएको थियो ।
