भैरहवा, ४ मंसिर । भैरहवा क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाई अघि बढ्न सिद्धार्थ नगरपालिकालाई सरोकारवालाले सुझाव दिएका छन् । बुधबार नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई समयमै सकेर योजना अघि सार्नुपर्नेमा सुझाव दिए ।
नगरपालिकामा नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना (एलपीईडी) लागू भएको छ । परियोजना कार्यान्वयन अन्तर्गत नगरपालिकाभित्र रहेका विभिन्न आर्थिक सम्भाव्यता र आयका अवसरहरु प्रदान गर्ने क्षेत्रहरु एवं मूख्य श्रृंखलाहरु पहिचान गर्न पहिलो चरणको कार्य प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण (पीएसीए) मार्फत काम सुरु गर्न लागिएको छ । नगरपालिकासँग मिलेर जीआईजेडले यसको अगुवाई गरिरहेको छ ।
सम्भाव्यता अध्ययन र लगानीका योजना छनौटबारे बुधबार नगरपालिकाले भैरहवा क्षेत्रका राजनीतिकदल, नागरिक समाज, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिसँग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले नगरको विकासको आधार पर्यटन क्षेत्र नै भएको बताउनुभयो । उहांले कृषि, उद्योग व्यवसायसँगै पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढ्न र त्यसतर्फ लगानी बढाउन ननगरपालिकालाई आग्रह गर्नुभयो ।
पर्यटन व्यवसायी किशोर जोशीले लुम्बिनीको काखमै सिद्धार्थनगर भएकाले यहाँको समृद्धिको आधार पर्यटन हुनसक्ने औल्याउनुभयो । उहांले सबैभन्दा बढी पर्यटक सिद्धार्थनगरबाट भित्रिने र ती पर्यटकलाई यहाँ भुलाउन पर्यटकीय गतिविधिका काम गरिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सामाजिक अगुवा भरतकुमार पोखेर, उद्योगी मंगल भण्डारी, पत्रकार शंकर पाण्डेले नगरपालिकालाई पर्यटन क्षेत्रलाई नै प्राथमिकता राखेर योजना निर्माण गर्न सुझाव दिनुभयो । उहांहरुले त्यससँगै नगरमा कृषि पकेट क्षेत्र छुट्याएर व्यवसायिक कृषि गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । यस्तै, भैरहवा औद्योगिक क्षेत्र भएकाले उद्योगधन्दा विकासको वातावरण बनाउन समेत उहांहरुले आग्रह गर्नुभएको छ ।
नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकाले पनि पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जनाउनुभयो । उहांले डण्डा नदीको छेउमा बुद्धत्व झल्कने पर्यटकीय गेट बनाउन लागिएको, वडा नं. २ र ३ मा पर्यटकीय पार्क निर्माण र भैरहवाको मुख्य सडकमा बुद्ध मूर्ति राख्ने काम भइरहेको बताउनुभयो । बहुउद्देश्यीय डण्डा कोरिडोरको योजना ल्याइएको बताउंदै उहांले छलफलमा उठेका सुझावहरु आफूहरुले कार्यान्वयन तहमा लैजाने बताउनुभयो ।
उपप्रमुख उमा काफ्लेले छलफलमा उठेका सुझावहरु आगामी वर्षको योजनातर्जुमाका लागि सहयोगी दस्तावेज हुने अपेक्षा रहेको जानकारी गराउनुभयो ।
छलफलले स्थानीय अर्थव्यवस्था र सम्भाव्यताको लेखाजोखा गर्नुका साथै स्थानीय अर्थव्यवस्थालाई उत्प्रेरित गर्ने क्रियाकलापहरुको पहिचान गर्ने जीआईजेडका आर्थिक विकास शाखाका प्राविधिक सल्लाहकार सुरेश बराललले बताउनुभयो । उहांले कार्यक्रमको उद्देश्य नै स्थानीय अर्थतन्त्रलाई जागृत गर्नुका साथै यसमा देखिने जोखिमको सामना गर्न सक्ने क्षमतालाई सशक्त बनाउनु भएको उल्लेख गर्नुभयो ।