सभ्य र सुसंस्कृत समाज निर्माणका लागि एकताबद्ध भई अघि बढ्न आग्रह
बुटवल, ११ कार्तिक । दिपावली अर्थात तिहार पर्वको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पोख्रेलले शुभकामना सन्देश जारी गर्दै चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व छ र पारिवारिक मिलन र सामाजिक सद्भावकालागि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् भन्नुभएको छ ।
‘सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सुत्रमा बाँधेर समाजलाई गतिशिल बनाउनु हाम्रा चाडपर्वका विशेषता हुन् । तिहारले पनि पारिवारिक मिलन र सामाजिकसद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सक्दा यसको सांस्कृतिक महत्व उजागर हुन्छ ।’ मुख्यमन्त्रीको सन्देशमा भनिएको छ ।
नेपालीको मौलिक पर्व तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्ता प्रति न्याय हुनेछ भन्दै मुख्यमन्त्री पोख्रेलले आफ्नो शुभकामना सन्देशमा परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृति बोकेर आइरहनु नेपाली समाजका लागि चिन्ताको विषय हो भन्नुभएको छ ।
तिहारमा जुवातास खेलेर सम्पत्ति बर्बाद गर्ने र पारिवारिक जीवन खण्डित पार्ने प्रवृति नेपाली समाजका लागि घातक छ भन्दै पटका पड्काउने क्रियाकलापले बालबालिकामा दुर्घटनाको जोखिम बढेकोले तिहारमा जुवातास खेल्ने र पटका पड्काउने क्रियाकलापलाई निरुत्साहित गर्न राज्यले चाल्ने कदममा सबैले सहयोग गरौं, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि एकताबद्ध भई अघि बढौं मुख्यमन्त्री पोख्रेलको सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री पोख्रेलले आफ्नो सन्देशमा संविधानको सफल कार्यान्वयनगर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ भन्नुभएको छ ।
समृद्ध प्रदेश खुसी जनताको लक्ष्यलाई साकार पार्न सबै एकताबद्ध भई अघि बढ्न आवश्यक छ भन्दै सन्देशमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिकदल, समुदाय, संघ संस्था र आमनागरिकमा हार्दिक अपील गरिएको छ ।
