बुटवल, १८ असोज । आज फुलपाती । हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको परम्परा अनुसार आज देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दशैं घरहरुमा धुमधामका साथ फूलपाती भित्र्याइँदैछ ।
आज शक्तिस्वरुपा देवी कालरात्री भगवतीको पूजा आराधना गरिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् । उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह झल्कने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ ।
माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ ।
दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, फलफूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । आजै गोरखाबाट ल्याइएको फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन, मगर र नेवार जाति ८ जनाले काठमाण्डौंको जमलसम्म ल्याई पर्सेर हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक भित्र्याउने परम्परा छ ।
फूलपातीको अवसरमा नेपाली सेनाले काठमाडौंको टुंडिखेलमा फूलपाती हर्षबढाईं तथा निशान प्रदान कवाज समारोह आयोजना गर्दछ ।
घटस्थापनाका दिनदेखि दशैं शुरुहुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीकै दिनदेखि शुरु हुन्छ । आजदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसाय लगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आआफ्नो घर फर्किने क्रम पनि तीव्र भएको छ ।