बुटवल, १३ असोज । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चिनियाहरुले स्वदेशमै रोजगारी र काम गरेका कारण चीनले आर्थिक विकासमा फड्को मारेको बताउनु भएको छ ।
नेपाली जस्तै चिनियाहरु पनि स्वदेशमा भन्दा विदेशमा रोजगारीका लागि हाम फालेको भए अहिलेको चीन बन्न नसक्ने मन्त्री गिरीले औंल्याउनु भयो ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनको ७० औं राष्ट्रिय दिवसको अवसरमा सोमबार भैरहवामा गरेको अन्तरक्रियामा मन्त्री गिरीले चीनको आर्थिक विकास, समृद्धि र सुशासनमा चिनिया जनताको कडा परिश्रम, अनुशासन र देशभक्ति मुख्य आधारस्तम्भ रहेकोमा जोड दिनुभयो । ‘चिनिया जनतामा विदेशमा होइन, आफ्नै देशमा काम गर्नुपर्छ भन्ने साझा सोंच थियो, त्यही देशभक्तिपूर्ण सोंचले चीनले विकासमा फड्को मारेको हो’–मन्त्री गिरीले भन्नुभयो –‘हामीले चीनबाट सिक्ने भनेकै यही हो, अर्को कुरा सुशासन र अनुशासन पनि सिक्नुपर्छ ।’
नेपालीहरुमा नाकाबन्दीका बेला मात्रै देशमै केही गर्नुपर्छ भनेर लाग्ने तर केही समयपछि त्यसलाई बिर्सने बानीले आत्मनिर्भर बन्न नसकेको मन्त्री गिरीले औंल्याउनुभयो । चीनले नेपालको आर्थिक र औद्यागिक विकासमा सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै मन्त्री गिरीले नेपालको कानूनी प्रकृया झन्झटिलो भएको चिनिया लगानीकर्तामा छाप परेकाले त्यसलाई नेपालले हटाउनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकार र नेपाली पक्षकै कमजोरीका कारण नेपालमा चाहेजति चिनिया सहयोग भित्राउन नसकिएको मन्त्री गिरीले बताउनुभयो ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले चीनसंग नेपालको वहुआयामिक सम्बन्ध रहेकाले बौद्ध धर्मावलम्बी पर्यटक भित्राउन सरकार र नीजि क्षेत्रले पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहांले नेपालको नीतिगत कमजोरीका कारण चिनिया लगानी र पर्यटक अपेक्षाकृत आकर्षित हुन नसकेको औंल्याउनुभयो ।
नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीन स्वतन्त्र भएको सात दशकमै आर्थिक र औद्योगिक विकासमा फड्को मारेर विश्वको दोस्रो शक्तिशाली अर्थतन्त्र भएको मुलुक बनेको उल्लेख गर्दै नेपालले चीनबाट थुप्रै फाइदा लिन सक्नुपर्ने बताउनुभयो । सन् १९४९ मा स्वतन्त्र भएको चीनले वर्तमान राष्ट्रपति सि जिन पिङको पालामा दुई करोड भन्दा बढी जनसंख्यासहित ७४ करोड गरिब जनतालाई गरिबीबाट मुक्त गरिसकेको उल्लेख गर्दै अध्यक्ष सापकोटाले चीनबाट नेपाली नेताहरुले सिक्नुपर्ने बताउनुभयो । चिनिया जनतासंग जनस्तरमा सम्बन्ध विस्तार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमार्फत यस क्षेत्रको विकास र समृद्धिका लागि नेपाल चीन मैत्री समाज लुम्बिनी स्थापना भएको अध्यक्ष सापकोटाले जानकारी गराउनुभयो ।
कार्यक्रममा समाजका उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी, महासचिव मनिषकुमार जोशी, सदस्य डा. गितु गिरी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी, प्रश्रित प्रतिष्ठानका अध्यक्ष डा. कपिल लामछिाने, पर्यटन व्यवसायी सागर अधिकारी, बीएन गुप्ताले चीनबाट नेपालले प्रविधि भित्राएर उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लुम्बिनीस्थित चिनिया बौद्ध बिहारका भिक्षु ता चिङको पनि उपस्थिति थियो । सन् १९४९ अक्टुबर १ तारिखमा चीन स्वतन्त्र भएको हो । उक्त दिनको सम्झनामा नेपाल चीन मैत्री समाज लुम्बिनीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।