बुटवल, ८ असोज । चाड पर्वको समयमा उपभोक्ता ठगिने गरेको सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरुले औल्याएका छन् ।
चाडपर्व नजिकिंदै गर्दा विभिन्न क्षेत्रका व्यवसायीबाट उपभोक्ता ठगिने गरेको उनीहरुले स्वीकार समेत गरेका छन् ।
रिपोर्टर्स क्लवले बुधवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सरोकारवाला कार्यालयका प्रमुख तथा अध्यक्षहरुले बजार अनुगमन प्रभावकारी बन्न नसकेको औल्याएका थिए ।
दैनिक उपभोग्य वस्तु विक्रीवितरण गर्ने व्यवसायी, यातायात र होटल व्यवसायीबाट उपभोक्ता सबै भन्दा बढी ठगिने गरेको उनीहरुले बताएका छन । गुणस्तरीय सेवा र खाद्यान्न पाउने अधिकारबाट उपभोक्तालाई बन्चित गराउन नहुने र त्यसका लागि उचित अनुगमन गरी गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय बुटवलका अधिकृत विष्णु ज्ञवालीले उपभोक्तालाई गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन बजार अनुगमनको विषयमा जिल्ला प्रशासन प्रतिवद्व रहेको बताउनु भयो ।
उहाँले मूल्य नियन्त्रण, बजार अनुगमन र सिट संख्या भन्दा बढी यात्रुलाई टिकट दिएर सर्वसाधारणलाई दुःख दिने कार्यलाई सबैको सहयोगमा रोकिने बताउनु भयो ।
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका निमित्त प्रमुख रुद्र ज्ञवालीले सरकारबाट कानुनी रुपमा प्रदेश तथा स्थानीय तहमा अनुगमन समिति गठन गर्नुपर्ने भएपनि हुन नसकेको र नियमावली पनि नआएका कारण वजार अनुगमनमा समस्या भएको बताउनु भयो । यद्यपी उहाँले आफ्नो तहवाट अनुगमनका काम गर्ने प्रयास गरिएपनि जनशक्ति अभावका कारण प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो ।
प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक रामप्रकाश शाहले ट्राफिक प्रहरीले स्थानीय प्रशासन, सरकार र सरोकारवाला निकायसंग मिलेर उपभोक्ताको हितमा काम गरिरहेको बताउनु भयो । चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने गलत कामलाई रोक्ने र चेकजांचलाई पारदर्शी बनाउने उहाँले बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले उपभोक्ताको हितमा गलत गर्ने जुनकुनै व्यवसायीलाई कारवाहीका लागि उद्योग वाणिज्य संघले प्रहरी प्रशासनलाई सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका कार्यवाहक अध्यक्ष तेजकुमार पाठकले बजार अनुगमनलाई निरन्तरता दिएर उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउनु पर्ने बताउनु भयो । बजार अनुगमन नहुंदा गुणस्तरहिन सामान विक्रीगर्नेहरुलाई सहज भएको उहाँको कथन थियो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले बजार अनुगमनमा प्रशासनले चासो नदिएको धारणा राख्नु भयो । रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।