रुपन्देही काँग्रेसले भैरहवामा विरोध प्रदर्शन सहित सभा गर्ने
बुटवल, ७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज समापन गरिदै छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आज जिल्लामा विरोध सभा गरेर समापन गर्न लागिएको हो ।
विपीको जन्मजयन्तीको अवसरमा सबै प्रदेशसभा निर्वाचन क्षेत्रका तोकिएको स्थानमा १०६ बिरूवा रोपेर जागरण अभियानको शुभारम्भ गरिएको थियो । देशका ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको जागरण अभियानमा खटिएका केन्द्रिय प्रतिनिधिहरुले सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधि पार्टीको आगामी रणनीतिका बारेमा कार्यकर्ताहरुलाई वडास्तरमा भेला गरेर जानकारी गराएका थिए ।

जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस तिलोत्तमा नगर समिति रुपन्देहीले सोमबार मंगलापुर स्थित राम जानकी मन्दिरमा सामाजिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
जागरण अभियान अन्तर्गत गरिएको कार्यक्रममा बोल्ने नेपाली काँग्रेसका नेताहरुले बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, जनतामा करको बोझ, देशमा नेकपाको दुई तिहाईको सरकार वनेपछि मौलाउदै गएको विकृति, विसंगती र अत्याचारका विषयमा धारणा राखेका थिए ।
नगर सभापति हरिलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले दुई तिहाईको दम्भका साथ सरकार अगाडि बढेको र गरिव, किसान र ब्यापारी माथि कर आतंक मच्चाएको आरोप लगाउनु भयो ।

उहांले मुलुकमा भ्रष्टाचार मौलाउदै गएको, शान्ति सुरक्षाको अवस्था नाजुक रहेको र सरकार विधिको शासन र संविधानको मर्म विपरित चलेकाले मुलुकमा विधिको शासन स्थापन गर्न र सरकारका जनविरोधि गतिविधिको भण्डाफोर गर्न काँग्रेसले जागरण अभियान चलाएको वताउनु भयो ।
नगर कोषाध्यक्ष जगत पौडेलको स्वागत र सचिव शिव गैरेको संचालनमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, याकुव अन्सारी, केन्द्रिय प्रतिनिधि माधव नेपाल, काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणलगायतले बोल्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा चरम भ्रष्टाचार भएको, मुलुकमा विकृति र विसंगतिले जरा गाडेको, अन्याय अत्याचार, बलात्कार र हत्याका घटनाहरु बढेको भन्दै सरकारका जनविरोधी कार्यका विरुद्ध सडक संघर्ष गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरु सदस्य निर्मला क्षेत्री, याकुव अन्सारी र माधव नेपाललाई पार्टीको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

यसैबिच नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा विरोध प्रदर्शन सहित दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको समापन गर्दैछ ।
सरकारले राष्ट्रियतामा आँच आउने काम गरेको, महंगी, भ्रष्टाचार र अनियमितता बढेको तथा महिला हिंसा, हत्याका विरुद्ध बिरोध प्रदर्शन गर्न लागिएको हो । यसलाई नेपाली काँग्रेसले शक्ति प्रदर्शनका रुपमा अगाडी बढाएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
भैरहवाको बुद्धचोकबाट सुरु हुने बिरोध प्रदर्शन मिलनचोक पुगेर बिरोध सभा गरिने छ । उक्त बिरोध प्रदर्शन कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सीता गुरुङ् आउने कार्यक्रम छ । त्यस्तै उक्त कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्रमा खटिएको केन्द्रीय प्रतिनीधिहरु, पार्टीका नेताहरु सहभागि हुने छन् ।
