स्थानीय ढुवानी व्यवसायी आन्दोलित
रामकुमार श्रेष्ठ
नवलपरासी, २५ भदौ । नवलपरासीको सर्दीमा होङ्सी सिमेन्टको ढुवानी ठप्प भएको छ । स्थानीय ढुवानी व्यवसायीहरुले गत सोमबार साँझबाट ढुवानी रोकेर आन्दोलन थालेका हुन् ।
उनीहरुले होङ्सी कम्पनीले पाएको सम्पूर्ण अर्डर स्थानीय ट्रान्सपोर्टलाई जानकारी हुनु पर्ने, होङ्सी सिमेन्टबाट उत्पादन भएको सिमेन्ट तथा क्लिंकर ढुवानी गर्दा स्थानीय ट्रान्सपोर्टको गिल्टी काट्नु पर्ने, काठमाडौं, पोखरा लगायतका ढुवानी स्थानीयलाई दिनुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।
उनीहरुले मुलगेटमै ढुवानीका सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।
पूर्वी नवलपरासीमा स्थापना भएको यो उद्योग नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा उद्योग स्थापना गरिएको छ ।
पहिलो चरणमा दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य सहित उत्पादन शुरु गरेको यो उद्योगको पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने रहेको उद्योगले जनाएको छ ।
सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ ।